ई–सेवाको कर्मचारी हुँ भन्दै १५ लाख बढी ठगेको आरोपमा पाँचजना पक्राउ


काठमाडौँ । ई–सेवाको कर्मचारी हुँ भन्दै १८ जनाबाट १५ लाख बढी ठगेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पीडितहरूका मोबाइलमा फोन गरेर ‘म ईसेवाका कर्मचारी हुँ, तपाईँको ईसेवा आइडी बैङ्क खातासँग जोड्न तथा खाता नवीकरण, केवाईसी फारम अपडेट, स्टेटमेन्ट भेरिफाइ, सेक्युर ट्रान्सफर चार्ज नलाग्ने र ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध भन्दै विश्वासमा पारेर ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसरी विश्वास दिलाएर उनीहरूले पीडितहरूको मोबाइलमा जाने एक पटक प्रयोग गर्न मिल्ने पासवर्ड (ओपीटी) पठाउन लगाएर ईसेवाका ग्राहकको खाताबाट रकम निकाल्ने गरेको पाइएको छ । ईसेवामा जोडिएका बैङ्क खातामा समेत पहुँच पुराएर रकम निकाल्ने गरेको अनुसन्धानबाट खुलेको छ । यसरी ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका ५ का २६ वर्षीय नवनीत कुमार कुशवाहा, सोही ठेगानाका २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २१ वर्षीय रितेश कुशवाहा, रौतहटको गढीमाई नगरपालिका ५ का १९ वर्षीय दीपेन्द्र कुमार यादव र गौर नगरपालिका ५ का २० वर्षीय अभयकुमार यादव रहेका छन् । उनीहरूले १८ जनाको खातामा १५ लाख २० हजार ९०१ रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता, एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्