काठमाडौं । यसै साता कारखानाका एक कर्मचारीले कच्चा सामग्रीमा पिसाब गर्दै गरेको भिडियो भाइरल भएपछि चीनको सबैभन्दा ठुलो बियर निर्मातामध्येको एक कम्पनीले उक्त घटनाको अनुसन्धान सुरु भएको जनाएको छ ।
बिहीबार अनलाइनमा प्रकाशित भएको भिडियो क्लिपमा कथित रूपमा सिङ्ताओ ब्रुअरी कम्पनीको गोदाममा एक पुरुष कर्मचारीलाई अग्लो पर्खाल भएको कन्टेनरमा चढेर कच्चा सामग्रीमा पिसाब गरिरहेको देखाइएको छ । उक्त फुटेज चिनियाँ सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसार गरिएको छ । यसलाई लोकप्रिय प्लेटफर्म विबोमा लाखौँ पटक हेरिएको छ । सिङ्ताओले उक्त घटनालाई लिएर प्रहरीसँग सम्पर्क गरेको र अनुसन्धान जारी रहेको बताएको छ ।
‘हाम्रो कम्पनीले बिहीबार सिङ्ताओ ब्रुअरी नम्बर ३ बाट बाहिरिएको प्रासङ्गिक भिडियोलाई धेरै नै महत्त्व दिएको छ’, बियर निर्माता कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘हामीले चाँडै नै प्रहरीलाई घटनाबारे जानकारी गरायौँ र सार्वजनिक सुरक्षा अङ्गहरू अनुसन्धानमा संलग्न भएका छन्, हाल विचाराधीन माल्टाको ब्याचलाई पूरै सिल गरिएको छ, कम्पनी आफ्नो व्यवस्थापन प्रक्रियालाई सुदृढ बनाउन र उत्पादनको गुणस्तर सुनिश्चित गर्न निरन्तर अग्रसर छ ।’
‘उक्त व्यक्तिलाई अदालतमा लगेर कम्पनीलाई नोक्सानका लागि क्षतिपूर्ति दिनुपर्छ भन्ने मेरो सुझाव छ’, कम्पनीको प्रतिक्रियामा विबोमा एक जनाले लेखेका छन् । अर्काले लेखेका छन्, ‘यसको गहिरोसँग अनुसन्धान होस्, सधैँ हाम्रो राष्ट्रिय च्याम्पियन ब्रान्डहरूका लागि अगाडि आउनुहोस् ।’