मोरङ । नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् । काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
आज (शनिवार) पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको जानकारी दिए । कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण राजीनामा दिएको थापाले बताएका छन् ।
‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रूपमा बसिरहन उपयुक्त नभएको महसुस गरी आजको मितिदेखि लागू हुने गरी मैले नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहँदै आगामी दिनमा क्रियाशील रहनेछु’ उनले राजीनामा पत्रमा भनेका छन् ।
कोशीमा दुई दुई पटक मुख्यमन्त्री बनेका थापाको दुवै पटकको सरकार सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए । आफूले दुई पटक मुख्यमन्त्री बन्दा पनि आफूले त्यसलाई जोगाउन नसकेको स्वीकार गरेका छन् । अदालतले पदमुक्त गरेपछि आफूले त्यति बेलै राजीनामा गर्नुपर्ने विचार गरे पनि विभिन्न कारणले ढिलो भएको थापाको भनाइ छ ।
थापाले केदार कार्की मुख्यमन्त्री भएकामा बधाई दिएका छन् । उनले कार्की मुख्यमन्त्री भएकै दिन राजीनामा दिनु संयोग मात्र भएको बताए । ‘यसमा कुनै आग्रह, पूर्वाग्रह छैन’ उनले भने । कोशीमा राजनीतिक घटनाक्रमको कारक आफू पनि भएको महसुस गरेर आफूले राजीनामा दिएको पनि थापाले बताए ।