काठमाडौँ, २८ कार्तिक । मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा स्थानीय तहका ४८ पदका लागि हुने उपनिर्वाचनमा २८१ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । बुधवार ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता भएको हो ।
स्थानीय तहमा महानगरपालिका प्रमुख–एक, गाउँपालिकाका अध्यक्ष–तीन, गाउँपालिकाका उपाध्यक्ष–एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका रहेको छ । मङ्सिर १४ गतेको उपनिर्वाचनले पदपूर्ति गर्ने छ ।
आयोगले महानगरपालिका प्रमुखका लागि पाँच लाख ५० हजार, वडाध्यक्षका लागि दुई लाख ५० हजार, नगरपालिकाको वडाध्यक्षका लागि दुई लाख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि तीन लाख ५० हजार र वडाध्यक्षका लागि एक लाख ५० हजार प्रचारप्रसार खर्च सीमा निर्धारण गरेको छ ।
उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या २६ छ । स्थानीय तहको पदाधिकारीको निर्वाचन प्रचारप्रसारका लागि १० दिनको समय तोकिएको छ ।