काठमाडौँ । इजरायलमा कार्यरत नेपाली स्वदेश फर्किन चाहने सरकारले चार्टर विमानमा ल्याउने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरू नेपाल आउन चाहेमा नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।
यस्तै इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।
यस्तै नेपाल फर्कन चाहने नेपालीहरूलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न दूतावासलाई स्वीकृति दिने निर्णय पनि भएको छ । यस्तै नेपालीहरूको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
२०८० असोज २२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू :
१. मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दश) जना नेपालीको दुःखद निधन भएकोमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने ।
२. यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने ।
३. परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने ।
४. यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरुप प्रतिपरिवार दश लाख रुपैयाँ उपलब्ध गराउने । उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत निकासा दिने ।
५. इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने एवं घाइतेहरूको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने ।
६. इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन प्रणालीमार्फत संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने । स्वदेश फर्कन चाहने इजरायलमा रहनुभएका नेपालीहरूलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने ।
७. अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरूलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने ।
८. इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा ३ (तीन) महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।
९. इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने । नेपाल फर्कन चाहने नेपालीहरूलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्राञ्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृति दिने ।
१०. इजरायलमा रहेका नेपालीहरूको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने ।
११. यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र संवेदनशील सामग्रीहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा आह्वान गर्ने ।