मोरङ । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको अध्यक्ष पदमा विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडा बिच प्रतिस्पर्धा हुँदै छ । मोरङको विराटनगरमा जारी नेकपा (एमाले) कोशी प्रदेश कमिटीको पहिलो अधिवेशनमा आज (आइतबार) नेतृत्व चयनका निम्ति मतदान हुँदै छ ।
प्रदेश कमिटीको नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास भएता पनि ढकाल र खतिवडाले आ–आफ्नो अडान नछोडे पछि मतदान हुने पक्का भएको हो । ढकालले मोरङ जिल्लाको नेतृत्व दुई पटक अध्यक्ष भएर सम्हाली सकेका छन् । मदन भण्डारीसँगै एमालेको सांगठानिक काम गरेका खतिवडा ईमान्दार र पाका नेताका रूपमा पार्टीमा परिचित छन् । खतिवडा २०७४ को निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध भएका छन् । उपाध्यक्षमा टीकाराम चेम्जोङको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध भएका हुन । सचिवमा झापाका हीरा थापा, उदयपुरका शैलेस लामा, पाँचथरका राजकुमार भण्डारीले र उपसचिवमा मोरङका खेम नेपाली, झापाकी जलवर्ष राजवंशी, संखुवासभाका भविश्वार गुरुङ र खोटाङका देवान राईले मनोनयन दर्ता गराएका छन् ।
कोशी प्रदेशका १४ जिल्लाको भूगोलतर्फ १८८ जना निर्वाचित हुने छन् । मोरङमा ३३ जना, सुनसरीमा २१, उदयपुरमा १२, झापामा ३२, इलाममा १५, धनकुटामा ११, ताप्लेजुङ र संखुवासभामा ९/९, पाँचथर, खोटाङ, भोजपुर र सोलुखुम्बुमा ८/८ र तेह्रथुम र ओखलढुंगामा ७/७ जना निर्वाचित हुने छ । अधिवेशनबाट १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव पदाधिकारी र सदस्यहरूसहित २१५ सदस्यीय प्रदेश कमिटी निर्माण हुने ।