धरान, २७ कात्तिक । मङ्सिर १४ गते हुने उपनिर्वाचनको लागि धरान उपमहानगरपालिकाको मेयर र वडा नम्बर ७ को वडाध्यक्षका उम्मेद्वारहरुले झाँकी र पञ्चेबाजासहित उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख प्रतिध्वदी नेकपाका र काँग्रेस दुवै पार्टीका उम्मेदवार मनोनयन दर्ता गर्न -याली, झाँकीसहित निर्वाचन कार्यालय पुगेका थिए ।
नेकपाका उम्मेदवार प्रकाश राईको पक्षमा नेकपा कार्यकर्ताले -याली पञ्चेबाजा बजाउँदै नेता भीम आचार्यसहितको टोली निर्वाचन कार्यालय पुगेका थिए भने नेपाली काँग्रेसका उम्मेदवार तिलक राईले पनि झाँकीसहितको टोली लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए ।
काँग्रेसको लागि निर्वाचन कार्यालयले ११ बजेदेखि १२ बजेसम्मको समय तोकेको थियो भने नेकपाका लागि १२ बजेदेखि पछिको समय तोकेको थियो । अन्य साना दल र स्वतन्त्र उम्मेदवारका लागि भने समय तोकेको थिएन ।
धरान उपमहानगरपालिका प्रमुखका लागि राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर ईजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् । चार स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका छन् ।
धरान उपमहानगरपालिका वडा नं. ७ को वडाध्यक्षमा पदमा नेकपाले जीवन सुवेदीलाई उम्मेदवार बनाएको छ भने काँग्रेसले सुवर्णमोहन पालिखेलाई उम्मेदवार बनाएको छ । यसअघि मेयर र वडाध्यक्ष दुवै पद तत्कालीन एमालेको विजयी भएको थियो । दुवै रिक्त पदमा कसको विजयी हुने हो मङ्सिर १४ गतेको उपनिर्वाचनले निर्णय गर्ने छ ।