कोशी प्रदेशमा एमालेकै सरकार बन्ने ओलीको दाबी


मोरङ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा अब एमालेकै सरकार बन्ने र मज्जाले चल्न दाबी गरेका छन् । आज (शुक्रवार) विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले असंवैधानिक तरिकाले बनेको सरकार धेरै नटिक्ने र अब एमालेकै नेतृत्वमा नयाँ सरकार बन्ने बताएका हुन् ।

सरकार बनाउन बहुमत चाहिएला नि भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ओलीले एमालेको बहुमत पुग्ने दाबी गरे । ‘सरकार बन्न ४७ सांसदको समर्थन चाहिन्छ । अब एमालेको सरकार बन्दा ४७ होइन ५० भन्दा बढी सांसदको समर्थन हुन्छ,’ उनले भने ।

अध्यक्ष ओलीले संविधानविपरीत कोशीमा मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत लिएको बताए । ’संविधान मिचेर काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाएको छ,’ उनले भने, ‘काँग्रेसको बलजफ्ती एकछिनका लागि हो । सधैँ चल्दैन ।’

उनले हतियार नै उठाएर हिँडेको माओवादी केन्द्रले नमाने पनि कांग्रेसजस्तो पुरानो पार्टीले संविधान मान्नुपर्ने बताए । ‘हतियार नै उठाएर हिँडेको माओवादीले संविधान नमान्नु ठुलो विषय होइन । तर, काँग्रेस जस्तो पुरानो पार्टीले कम्तीमा संविधान मान्नु पर्थ्यो,’ ओलीले भने । अध्यक्ष ओलीले सत्ता गठबन्धनकै दलका कारण कोशीमा अस्थिरता उत्पन्न भएको बताए ।

प्रतिक्रिया दिनुहोस्