शर्माको सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिमा प्रचण्ड सरकारले प्रतिशोध लिएको आरोप


काठमाडौं । सुन तस्करीको विषयमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका कारण त्यसको प्रतिशोधमा सांसद डा.सुनिल शर्मालाई पक्राउ गरिएको भन्दै उनले सचिवालयले आपत्ति जनाएको छ । डा.सुनिल शर्माको सचिवालयले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिशोध साध्ने हिसाबले राज्यसत्ताको दुरुपयोग गरी सांसद शर्मालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएको हो ।

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित काँग्रेस सांसद शर्माले गत साउन १० गते संसद् बैठकमा सुन तस्करीको विषयलाई लिएर आफ्नै पार्टीका अर्थमन्त्री डा.प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका थिए । सुन तस्करीमा जो सुकै संलग्न भए पनि कारबाही गर्नुपर्ने धारणा राख्दै आएका सांसद शर्माले तस्करीको मुख्य नाइके पक्राउ नगरिए सदनमै आमरण अनशन बस्ने घोषणा समेत गरेका थिए । सांसद शर्माले सदनमा यस्तो अभिव्यक्ति दिएको १५ दिनपछि बिहीबार अपराह्न करिब ३ बजे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको टोलीले काठमाडौँको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरेको हो । संसद्को अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको अनुमति नदिई विना पक्राउ पुर्जी पक्राउ गरिएको भन्दै उनको सचिवालयले घटनाको भर्त्सना गरेको छ ।

जनताको पक्षमा आवाज उठाउँदा वाक स्वतन्त्रताको खिल्ली उडाउँदै सत्ता र शक्तिको चरम दुरुपयोग गरी पक्राउ गरिएको सचिवालयको ठहर छ । ‘सुन तस्करीको विषयलाई लिएर संघीय सदनमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको कारण संसद्को अधिवेशन चालु रहेको अवस्थामा बहालवाला सांसदलाई सभामुखको बिना अनुमति र पक्राउ पुर्जी समेत जारी नगरी सीआइबीले क्रूरतापूर्वक पक्राउ गरेको कुरा आम जनसमुदायमा जानकारी गराउँदछौँ,’ सांसद शर्माका स्वकीय सचिव विवेक लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको पक्षमा आवाज उठाउँदा गृहमन्त्री र प्रधानमन्त्रीले रिसइबी साध्ने मनसायले बर्बरताको नाङ्गो नृत्य प्रस्तुत गर्दै वाक स्वतन्त्रताको खिल्ली उडाउँदै प्रजातन्त्रको मर्म विपरीत सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै सुन तस्करी काण्डका नाइकेहरूलाई कारबाहीको माग राख्दै उठाइएको आवाजलाई दबाउने नियतको घोर भर्त्सना गर्दछौँ ।’

यो कदमलाई बर्बर, अमानवीय र गैर प्रजातान्त्रिकको संज्ञा दिँदै यसको सशक्त प्रतिकार गर्न पनि आम जनसमुदायलाई विज्ञप्तिमार्फत अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्