पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ : ललिता निवास प्रकरण


काठमाडौँ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सर्च अपरेसन तीव्र पारेको छ । आज (मंगलबार) भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ सबैभन्दा पहिले पक्राउ परेका थिए ।

सीआईबीले काठमाडौं उपत्यकामा निरन्तर सर्च अपरेसन चलाउँदा पछिल्लो पटक पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पनि पक्राउ परेका छन् । यस प्रकरणमा मुछिएका उनलाई सीआईबीको टोली धुम्बाराहीस्थित निवासबाटै नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।

शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रूपमा कार्यरत थिए । त्यसअघि प्रहरीले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारी गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ । मीनबहादुर पक्राउ परेपछि सीआईबीको टोली डिल्ली बजार मालपोत कार्यालयका तत्कालीन प्रमुख एवम् अवकाशप्राप्त सहसचिव कलाधर देउजासहित चार जनालाई पक्राउ गरेको थियो । सीआईबीले मंगलबार बिहानदेखि चलाएको सर्च अपरेसनका क्रममा अहिलेसम्म यो प्रकरणमा ७ जना हिरासतमा परिसकेका छन् ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङबाट सुरु भएको पक्राउ शृङ्खला डिल्ली बजार मालपोतका कर्मचारी हुँदै बिचौलियासम्म पुगेको हो । सीआईबीको अपरेसन जारी रहेकाले यसमा मुछिएका अन्य अभियुक्तहरू पनि पक्राउ पर्ने सम्भावना बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्