काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर्न भनेर राष्ट्रपतिलाई कुनै दबाब नदिएको बताएका छन् । आज (बुधवार) राष्ट्रियसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले नागरिकतासम्बन्धी विधेयक भारत जाने दिन नै प्रमाणीकरण हुनु संयोग मात्रै भएको बताए ।
प्रचण्डले भने, ‘नागरिकतासम्बन्धी विधेयक मैले भारत जाने दिन प्रमाणीकरण होस् भनेर भनेको होइन । यो त संयोग मात्रै परेको हो । मैले सम्मानित सदनलाई पनि भारत भ्रमणबारे जानकारी गराएको थिएँ । त्यही कुरा राष्ट्रपतिलाई भनेको थिएँ । राष्ट्रपतिलाई भारत भ्रमणबारे जानकारी गराउनु कर्तव्य पनि हो । म त वैशाख २४ गते संयुक्त अधिवेशनको दिन नागरिकता विधेयक प्रमाणीकरण होस् भन्ने चाहन्थे ।’
प्रचण्डले भारत भ्रमण महत्त्वपूर्ण भएको बताए । प्रचण्डले भने, ‘गेमचेञ्ज गर्ने तरिकाले अगाडि बढेको छ । राम्रो विश्वासको वातावरण बनाएर मात्रै लिपुलेक,कालापानी समस्याको हल गरिनुपर्छ । एकले अर्कालाई पोलिटिक्स मात्रै गरेर समस्या समाधान हुँदैन । बरु समस्या बल्झिन्छ । कचिङ्गल हुने मात्रै हो ।’
उनले संवादको माध्यमबाट सकारात्मक ढंगले समाधानको उपाय खोजेको बताए । प्रचण्डले भने, ‘प्रधानमन्त्रीले विश्वासको वातावरण बनाएर सीमाको समस्या हल गर्छौँ भन्ने ठाउँसम्म भारत पनि सहमत भएर आएकोलाई त स्विकारौँ । केही पनि भएन भन्ने साथीहरूले हिजो त सरकारको नेतृत्व पनि उहाँहरूको दलले पनि गरेकै थियो । अरू थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँहरूले के चाहिँ गर्नु भाथ्यो, गर्नुभयो केही । उत्पात् भयो भन्ने मेरो दाबी होइन । तर,एउटा नयाँ सुरुवात भयो ।’
नेपाल समृद्ध हुने ढोका खोलेको दाबी गरे । प्रचण्डले भने,‘नेपालमा अरबौँ रुपैयाँ आउने वातावरण भयो । यसमा त हामीले खुसी व्यक्त गर्नुपर्ने होइन र ? पञ्चेश्वरको तीन महिनामा डीपीआर बनाउने र एक वर्षभित्र निर्माणको मोडालिटी तयार पार्ने भएका सहमति सम्झौताहरू ठिक ढंगले कार्यान्वयन गर्न हामी सबै एक हुनुपर्छ । हुन बाँकी सहमति पनि बनाउनु पर्छ । अनि हामी बलियो हुन्छौँ । अनावश्यक सकी नसकी विरोध गर्नुपर्ने आवश्यक छैन ।’