हाइटेन्सन प्रसारण लाइनको बिजुलीको पोलमा चढेर बसेका दिनेश माझी ११ घण्टा पछि ओर्लिए


मोरङ । मोरङको बुढीगंगामा आफ्नो माग पूरा गराउन ११ घण्टादेखि बिजुलीको हाइटेन्सन प्रसारण लाइनको पोलमा चढेर बसेका दिनेश माझी बल्ल ओर्लिएका छन् । सडकमा निर्माणाधीन पर्खाल बनाउने काम रोक्ने प्रतिवद्धतापछि बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय माझी ओर्लिएका हुन् ।

सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राख्दै उनी आज शनिवार बिहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थिए । गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि माझी खम्बाबाट तल झरेको बताइएको छ । अध्यक्ष र उपाध्यक्षसहित गाउँपालिकाका जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी सकुशल पोलबाट ओर्लिएका हुन् ।

अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनले उठाएका मागका विषयमा छलफल भइरहेको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीले जानकारी दिए । दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरे पनि उनी पोलबाट झर्न मानेका थिएनन् । १ लाख ३२ हजार भोल्ट बिद्युत् दौडिरहेको पोलमा उनी ११ घण्टा बसेका थिए । पोलमा मानिस चढेको जानकारी गराएको भए पनि नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको थिएन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालले युवकलाई पोलबाट तल झार्ने लामो प्रयास सफल भएको बताए । बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिर वालको काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका हुन् ।

गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका कारण उनलाई जबरजस्ती ओह्राल्न चुनौती थियो । उनले गाउँपालिका अध्यक्ष लगायत जनप्रतिनिधिहरूले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने विषयमा छलफल गर्न तयार भए पोलबाट झर्ने सर्त राखेका थिए । गाउँपालिका अध्यक्ष र वडाध्यक्ष जिल्ला बाहिर धनकुटा गएका कारण लामो समय माझी पोलमै बसेका थिए । अध्यक्ष र उपाध्यक्ष धनकुटाबाट फर्केर सिधै घटनास्थलमा पुगेर माग सम्बोधन गरेपछि उनी पोलबाट ओर्लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्