बेलबारीमा रहेको गुरुकुल पाठशालाले विज्ञान प्रदर्शनी गर्दै (भिडियोसहित)


बेलबारी, ८ मङ्सिर । बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाले विज्ञान प्रदर्शनी गर्ने भएको छ । विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर सो कुराको जानकारी दिएको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष माधवराज थापाले विद्यार्थीलाई किताबी ज्ञानका अतिरिक्त व्यवहारिक ज्ञान दिँदै आएको बताए । उनले आफूहरूले परम्परागत शिक्षामा भन्दा आधुनिक शिक्षामा जोड दिँदै आएको बताए । यस्ता कार्यक्रमले बालबालिकामा सामूहिक भावनाको विकास, आत्मविश्वासमा वृद्धि, सिर्जनात्मक र अनुसन्धानात्मक सीपको विकासमा सहयोग पुग्ने थापाको विश्वास रहेको छ । विद्यालयले आफ्नो सामाजिक दायित्व वहन गर्ने क्रममा धेरै जना गरिब तथा विपन्न बालबालिकालाई निःशुल्क रूपमा शिक्षासमेत दिँदै आइरहेको बताए ।

विद्यालयका प्रिन्सिपल कुमार खुलालले आफूहरूले गुणस्तरीय शिक्षाका माध्यमबाट बेलबारीलाई एउटा शैक्षिक हबको रूपमा विकास गर्ने काम गरिरहेको बताए । किताबी ज्ञानले मात्र सिकाइ पूर्ण हुन नसक्ने हुँदा पढाइसँगै व्यवहारिक शिक्षामा जोड दिइएको बताए । शुक्रवार हुने एक दिवसीय विज्ञान तथा सामाजिक प्रदर्शनीमा बालबालिकाले तयार पारेका विज्ञानसँग सम्बन्धित करिब २५ वटा प्रोजेक्ट, सांस्कृतिक विविधता झल्कने खालका विभिन्न जातजातिका भेशभुषा, खानाका परिकार, माटो र कागजका आकृति राखिने विद्यालयले जनाएको छ ।

प्रदर्शनीको अवलोकनका लागि बेलबारी र सुन्दरहरैँचाका २५ वटा विद्यालयलाई निमन्त्रणा गरिएको विद्यालयले जनाएको छ । बेलबारीका उद्योगी तथा शैक्षिक व्यक्तिहरूको सहभागितामा चार वर्ष अघि स्थापना भएको यस पाठशालाले मोफसलमा एउटा छुट्टै परिचय बनाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्