आयोजक निलोलाई हराउँदै व्वाईन युनियन सेमिफाइनलमा (फोटो फिचर)


मोरङ, ५ कार्तिक / मोरङको बेलबारीमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको मङ्गलबार भएको खेलमा व्वाईन युनियन काठमाण्डौँले आयोजक निलोलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । व्वाईन युनियन काठमाण्डौँले तेस्रो क्वाटरफाईनल खेलमा ६–५ गोल अन्तरले आयोजकलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित  समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो टाईब्रेकरमा भएको थियो । तर टाईब्रेकरमा पनि बराबरी भएपछि खेल सडेन डेथमा गएर टुङ्गिएको थियो ।टाईब्रेकरमा ब्याईज युनियनका मिलन लिम्बु, फो फानो, सुजन शर्मा, सकल रेग्मी, टपन कार्की र राजीव गुरुङले गोल गर्दै टिमलाई अन्तिम चार स्थान सुरक्षित पारेका थिए । टङ्क लामाको प्रहार भने बाहिरिएर गोल हुन सकेन ।

त्यसै गरी आयोजकका शंकर राई, मौसम लिम्बु, र अरुण लिम्बु, कासिम राई र आषिमले गोल गरे भने विक्रम तामाङ र पारस खत्रीको प्रहार असफल बन्यो ।
खेलको पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो । दोस्रो हाफमा भने आयोजक टिमका खेलाडी मौसम लिम्बुले गोल गरेक थिए । लिम्बुले खेलको ४७ औँ मिनेटमा गोल गरे ।

ब्याईज युनियनले खेलको ५३ औ मिनेटमा गोल गरेर १–१ गोलको बराबरीमा पुराए । फो फानोको हेडिङको प्रहार गोलमा परिणत भएको थियो ।
खेलको म्यान अफ द म्याच ब्याईज युनियनका खेलाडी तपन कार्की घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

बेलबारी नगरपालिका–१० भाउन्नेमा जारी गोल्डकप १० गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष छत्र लिम्बूले जनाएका छन् । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ ।

बुधवार हुने अन्तिम क्वाटरफाईनल खेल पाँचथर फुटबल क्लब पाँचथर र डाँगीहाट फुटबल क्लब (रातो) बिच हुने आयोजकले जनाएको छ । खेलको विजेता टिमले ३ लाख १ हजार र उपविजेताले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्