थुनामा आलम थप ५ दिन : रौतहट जिल्ला अदालतबाट म्याद थप


रौतहट, ३ कात्तिक ।  बम विस्फोटका घाइतेको जिउँदै इट्टा भट्टीमा जलाई हत्या आरोपमा पक्राउ परेका सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलममाथि अनुसन्धानको लागि रौतहट जिल्ला अदालतले थप ५ दिनको समय दिएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो । पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि म्याद थप भएको हो । अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पाएको छ ।

आलमलाई असोज २६ गते प्रहरीले पक्राउ गरेको थियो । १२ वर्ष अगाडि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विस्फोट भएको र विस्फोटमा घाइते भएकाहरूलाई इट्टा भट्टीमा जिउँदै जलाएर मारेको आरोपमा आलम पक्राउ परेका हुन ।

दुई पटक सम्म वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन नमानेका आलमलाई आइतबार तेस्रो पटक जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्