सुनबर्षी वडा नं.२ मा चौथो अन्तर्राष्ट्रिय आमन्त्रित अमरदह ढल्के जोवन गोल्ड कप हुने


सुनबवर्षी, ११ पौष । मोरङको सुनबर्षी नगरपालिकामा चौथो अन्तर्राष्ट्रिय आमन्त्रित अमरदह ढल्के जोवन गोल्ड कप हुने भएको छ । अमरदह ढल्के जोवन युवा क्लबले शनिवार सुनबर्षी नगरपालिका वडा नं.२ को वडा कार्यालय भवनको सभाहलमा पत्रकार सम्मेलन गर्दै गोल्ड कपबारे जानकारी  गराएको हो ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि तथा मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमालले चौथो अन्तर्राष्ट्रिय आमन्त्रित अमरदह ढल्के जोवन गोल्ड कपको नगद पुरस्कार भेट्रन खेल र खेलाडीको लागि नेपालमा नै पहिलो ठुलो धनराशिको नगद पुरस्कार भएको दाबी गरेका छन् । अध्यक्ष धिमालले चौथो अन्तर्राष्ट्रिय आमन्त्रित अमरदह ढल्के जोवन गोल्ड कपले उमेर ढल्किँदै गए पनि खेलाडीहरूलाई खेल स्तर तथा खेल क्षेत्रको विकासमा उत्प्रेरणा गर्ने बताए । गोल्ड कप सफल पार्न मोरङ जिल्ला फुटबल संघले पनि सक्ने सबै सहयोग अनिवार्य गर्ने अध्यक्ष धिमालले बताएका छन् । 

आयोजकका अनुसार यही फागुन ७ गते देखी चौथो अन्तर्राष्ट्रिय आमन्त्रित अमरदह ढल्के जोवन गोल्ड कपमा नेपाल, भारत र भुटान गरी तिन राष्ट्रका १२ वटा क्लबहरूको सहभागिता रहने छ । प्रथम नगद पुरस्कार रु.५ लाख ११ हजार र दोस्रो नगद पुरस्कार २ लाख ११ हजार राखिएको वडा नं. २ का वडाध्यक्ष तथा क्लबका अध्यक्ष प्रताब तामाङले जानकारी दिएका छन् । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित अमरदह ढल्के जोवन गोल्ड कपमा भने प्रथम नगद पुरस्कार रु.२ लाख ११ हजार र दोस्रो रु.१ लाख ५१ हजार राखिएको थियो ।

करिब दश वर्ष अघि स्थानीय युवाहरू बिच भएको सरसल्लाह अनुसार फुटबलमा रिटायर जीवन बिताउनेहरूलाई खेल क्षेत्रको विकासको लागि पुन ताजकी गराउने उद्देश्यले अमरदह ढल्के जोवन गोल्ड कपको सुरुवात भएको क्लबका उपाध्यक्ष हेमेस्वर राई बताउँछन् । ३० वर्ष उमेर माथिका खेलाडीहरूले मात्र सहभागी हुन पाउने राईले जनाए । उपाध्यक्ष राईले गोल्ड कप सफल पार्न सबैको सहयोगको आवश्यकता पर्ने हुन सक्ने सबै खाले सहयोग प्रदान गर्दिन खेल प्रेमीहरूलाई आग्रह पनि गरेका छन् । 

चौथो अन्तर्राष्ट्रिय आमन्त्रित अमरदह ढल्के जोवन गोल्ड कप सुनबर्षी वडा नं. २ मा स्थित वीरेन्द्र सार्वजनिक मा.विको खेलमैदानमा हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलन कार्यक्रममा छिमेकी वडा का वडाध्यक्ष, स्थानीय संघसंस्थाका प्रतिनिधि, स्थानीय युवा तथा खेलाडी लगायतको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष प्रताब तामाङको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन भने यज्ञ कार्कीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्