फोटोसहितको मतदाता नामावली सङ्कलन केन्द्रमा कर्मचारी न्यून हुँदा जनतालाई सास्ती


बेलबारी, २२ मङ्सिर । यतिखेर देशैभर फोटासहितको मतदाता नामावली सङ्कलनको काम धमाधम भइरहेको छ । मङ्सिर १८ गते शनिवारदेखि प्रत्येक पालिकामा कार्यालय खडा गरेर निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली लिइरहेको छ ।

यसरी नामावली सङ्कलन गरिरहँदा व्यवस्थापकीय पक्षमा उचित ध्यान नदिँदा कतिपय स्थानमा समस्या देखिएको छ । सङ्कलन कार्यमा खटिने कर्मचारी सङ्ख्या कमी र अन्य व्यवस्थापनमा पनि उचित ध्यान नदिँदा बिहानदेखि नाम टिपाउन लाइनमा लागेका सर्वसाधारणहरू त्यतिकै फर्कन विवश छन् ।  यही समस्या बेलबारीमा पनि देखिएको छ ।

बेलबारीका लागि वडा नं १ मा रहेको भूमिसम्बन्धी कार्यालयमा फोटासहितको मतदाता नामावली लिने व्यवस्था गरिएको छ । ११ वटा वडा रहेको बेलबारी नगरपालिकाका लागि एक जना कर्मचारीले मात्र नियमित रूपमा फोटोसहित नामावली लिने काम गरिरहेका छन् । फम भर्ने तथा पालो व्यवस्थापनमा नगरपालिकाले आफ्ना कर्मचारी खटाए पनि प्राविधिक कर्मचारी भने निर्वाचन आयोगमै भर पर्नु पर्दा जनताले सास्ती व्यहोर्नु परेको छ । 

सेवाग्राहीको चापलाई मध्यनजर गरेर नगरपालिकाले कर्मचारी थप्न दबाब दिएको पछि थप एक जना कर्मचारी त थपिएका छन् तर तिनले पनि नियमित रूपमा बसेर काम गर्न पाइरहेका छैनन् । कहिले बेलबारी त कहिले अर्को पालिकामा धाउनु पर्दा मतदाता नामावली लिने काममा झन् चाप बढिरहेको देखिन्छ । 

बुधवार सम्म आइपुग्दा वडा नं १, २, ३ र ४ का नामावली टिप्ने काम भएको छ । तर वडा नं १, २, ३ का समेत धेरै जनताको मतदाता नामावली लिन काम छुटेको छ । झन् वडा नं ८ को त आधाभन्दा बढीकै पालो आएको छैन । एक जना कर्मचारीले एक दिनमा बढीमा ८० जनाको फोटोसहितको नामावली टिपाउन सकिने निर्वाचन आयोगका कर्मचारीले बताएका छन् । तर बेलबारीमा भने बिहान केही अगाडि नै काम सुरु गर्ने गरेकोले दैनिक २ सय देखि २ सय ५० जनाको जति नामावली टिप्ने गरेको नगरपालिकाले जनाएको छ । यहाँको जनताको चापलाई हेर्दा दैनिक ३ जना फोटोसहितको नामावली सङ्कलन गर्ने कर्मचारी हुँदा पनि नसकिने खालको देखिएको छ । 

कति जनताले यसपालिका फोटोसहितको नामावलीमा भाग लिन्छन्, त्यसको लागि कति समय चाहिन्छ, कति प्राविधिक कर्मचारी आवश्यक पर्छ भन्ने कुराकोसमेत आङ्कलन नगरी निर्वाचन आयोगले नामावली लिने काम सुरु गर्दा सर्वसाधारण जनताले सास्ती व्यहोर्नु परेको स्थानीय सुजित कुमार बस्नेत बताउँछन् । यसमा स्थानीय पालिकाको पनि कमजोरी रहेको बस्नेतको ठहर रहेको छ । फोटो खिच्न आएका मानिसलाई बस्ने व्यवस्थासमेत राम्रो नभएको उनको आरोप रहेको छ । 

उनी भन्छन् ‘हिजोसम्म त यहाँ पालकोसमेत व्यवस्था थिएन । आज बल्ल त्यसको व्यवस्था भएको छ ।’

आदिवासी जनजाति महासङ्घका नगर अध्यक्ष तिलक राई आफूले धेरैको नामावली टिपाउनु छ, कर्मचारी थप्नु पर्छ भनेर नगरपालिकाको सर्वदलीय बैठकमा आवाज उठाएको बताउँछन् । मतदाता नामावली सङ्कलन केन्द्रमा भेटिएका माओवादी केन्द्रका नेतासमेत रहेका राई यसले त जनतालाई सास्ती भएको बताउँछन् । उनी यसरी जनतालाई सास्ती दिन नहुने विचार व्यक्त गर्छन् । 

टोकन प्रणालीमा समस्या

मङ्गलवार वडा नं ४ को पालोको दिन परेको थियो । हामी त्यहाँ पुग्दा विशेष गरेर युवाभन्दा पनि अधबैँसे मानिसहरूको जमघट बढी देखिन्थ्यो । वैदेशिक रोजगार, विवाह तथा बसाइसराइले पनि यो समूहको जमघट बढी भएको हामीले आङ्कलन गयौँ । मध्यान्हको ११ : ३० तिर त्यहाँ पुग्दा ४ सयभन्दा बढीलाई टोकन बाँडिएको थियो । जबकि दिनका २ सयभन्दा बढीको नामावली टिपाउन सकिने अवस्था नै थिएन ।

१२ बजेतिर त्यहाँ ३१३ नं को टोकन लिएर पालो कुरिरहेका बेलबारी –४ का चन्द्रप्रसाद घिमिरेले गुनासो गर्दै थिए ‘यदि आज नहुने हो भने यसरी टोकन बाँड्नुको के अर्थ रह्यो र ? अघि नै आज हुँदैन भनेको भए हुने थियो ।’

दैनिक रूपमा २०० सम्म मात्र फोटासहितको नामावली टिपाउन सकिने भए पनि ४ सय भन्दा बढी टोकन बाँडिइदा जनता पालो आउँछ भनेर भरेसम्म पनि कुरेर बसिरहेका थिए । निर्वाचनका कर्मचारीसँगको कुराकानी पछि मात्र वडा नं ४ का अध्यक्ष राम किराँती आफै लागेर २ सयभन्दा बढी टोकन नं पाएका जनतालाई आज पालो आउँदैन, २९ गते आउनु होला भनेर घर फर्काए । 

यस अघि नै फोटोसहितको नामावली टिपाए पनि पुन : नामा टिपाउन भेला भएका देखिए । सही सूचना जनतामा पुग्न नसक्दा पनि केही बढी जमघट भएको देखिन्थ्यो । मानिसहरु बिहानै देखि आएर बसेका थिए ।

सफारी भाडा तिरेर बिहानैदेखि आएर लाइनमा बस्नु पर्दा पनि पालो नआउने भए पछि उनीहरू आजित हुँदै भन्दै गरेका भेट्टिए –टाढा टाढादेखि यति टाढा आउने पर्ने भए सङघियता आएको के अर्थ रह्यो र ?’

विशेष गरेर बुढाबुढी र साना नानी भएका महिलाहरूलाई यसरी टाढाबाट बेलबारी आउनु पर्दा धेरै समस्या भएको फोटोसहितको नामावली टिपाउन आएकाले गुनासो गर्दै थिए । मतदाता नामावली लिने काम सम्बन्धित वडामै गरिने पर्ने धेरैको विचार थियो । केही भने टोकन दिए पनि त्यसको सही रूपमा प्रयोग हुन नसकेको पनि बताउँदै थिए । 

‘यति दुःख गरेर नामावली टिपाउनु पर्छ । यही आधारमा भोट जितेर गएका जनप्रतिनिधिले जनताको दुःख नबुझे पछि भोट दिनुको अर्थ र ? भोटसोट नै दिइन्न ।’ यस्ता भाव व्यक्त गर्ने पनि भेटिए ।


उता नगरपालिकाले भने मतदाता नामावली टिपाउने काम भइरहेको, जनताको चापलाई नै मध्यनजर गरेर दैनिक दुई जना कर्मचारीले फोटासहितको नामावली सङ्कलन गर्ने काम भएको जानकारी दिएको छ । 

बेलबारी नगरपालिकाका प्रवक्त योगेन्द्र सुवेदी सुरुका दिनमा केही समस्या देखिए पनि त्यसलाई सुधार गर्ने काम भइरहेको बताउँछन् । उनी नगरवासीलाई आजै पालो आएन भनेर मन नदुखाउन पनि आग्रह गर्छन् ।

उनी भन्छन् – आजै पालो आएन भनेर मन नदुखाउनु होला । सम्बन्धित वडाको पालोमा नभ्याएकाले २९ देखि पौष २ गते सम्म टिपाउन सक्नु हुने छ । यदि यति गर्दा पनि भ्याइएन भने समय थपिने छ ।’ 

प्रतिक्रिया दिनुहोस्