नयाँदिल्ली, १५ भाद्र । परम्परागत वैवाहिक समारोहबाट अलग गराइँदै आएका समलिङ्गी जोडीहरूले पछिल्लो समय आफ्नो धर्म अनुरूप मिलापको नयाँ बाटो अपनाउन थालेका छन् ।
अमित गोकले र समीर समुद्रले हिन्दु संस्कृति अनुरूप विवाह गर्ने भन्दा उनीहरूले चारैतिरबाट अवरोधै अवरोधको मात्र सामना गर्नुपरेको थियो । यसमा विवाह गराइदिन मान्ने पण्डित भेटाउन उनीहरूलाई सबैभन्दा गाह्रो भएको थियो ।
नर्थ क्यारोलिनामा बस्ने समीर भन्छन्, ‘हामीलाई हिन्दु परम्परा अनुसार नै विवाह गर्न मन थियो । तर धेरै पण्डितहरूले हामीलाई नाइँ भने । म समलिङ्गी भएकामा ममाथि यति धेरै शब्दहरूको प्रहार भयो कि यसले मलाई एकदमै दुःखी बनायो ।’ यसरी नाइँ–नाइँ मात्र भन्ने पुजारीहरूबाट थकित भएपछि समीर र अमितले अलग्गै उपाय लगाएका हुन् । उनीहरूका एक जना साथीले पुजारी सम्बन्धी सामान्य शिक्षा हासिल गरी हिन्दु परम्परा अनुरूप समलिङ्गीलाई मिल्ने किसिमले उनीहरूको विवाह गराई दिए ।
धेरै इन्डियन–अमेरिकन जोडीहरूले बलिउड स्टाइलमा विवाह गर्ने सपना देखका हुन्छन् जुन प्रायः परम्परागत हिन्दु संस्कृति अनुरूप नै हुन्छ । तर यो भने जति सजिलो छैन । विशेषगरी समलिङ्गी जोडीहरूलाई अमेरिकामै विवाह गर्न पनि धेरै कठिन हुने गर्दछ । उनीहरूको विवाहका लागि मन्दिरमा स्वीकृति पाइँदैन भने कतिपय पुजारी विवाहकै दिन नआइदिएर जोडीलाई निकै अफ्ठेरोमा पारिदिने गर्दछन् । यस्तै अनुभवका कारण अहिले साथीभाइ र समर्थकहरूले मिलेर परम्परागत रिती रिवाज भित्रै समलिङ्गी जोडीका लागि आफैँ छुट्टै समारोह सिर्जना गरी विवाह गराइदिन थालेका छन् ।
जस्तै विवाह गराइदिने पण्डित प्रायः पुरुषहरू हुने भए पनि सपना पाण्डे आफै पुजारी बनेर विवाह गराइरहेकी छन् । उनी आफूले पनि पाकिस्तानी मसुल्मान पत्नी शेहेरसँग परम्परागत रूपमा विवाह गर्न चाहँदा धेरैको विरोध र अवरोध खेप्नु परेको थियो । सपना भन्छिन्, ‘मन्दिरमा गएर पुजारीलाई बिन्ती गर्न मलाई असहज महसुस भयो । र मेरी पत्नीलाई पनि मस्जिदमा इमामसँग कुरा गर्न सजिलो थिएन । त्यसैले हामीले आफ्नो समारोह आफै लेख्यौँ, आफै बनायौँ र विवाह ग¥यौँ ।’ उनीहरूले यसमा आफूहरूको मिलापलाई अभिव्यक्त गर्ने किसिमका हिन्दु मन्त्र र कूरानका केही अंशहरू छनोट गरेका थिए ।
अहिले भने सपना आफू जस्तै समलिङ्गीहरूलाई परम्परागत रूपमा विवाह गर्न मद्दत गरिरहेकी छन् । उनले जस्तो काम गर्ने पुजारी एकदमै कम भेटिन्छन् जसले आफ्नो व्यावसायिक करिअरलाई सँगसँगै अघि बढाउँदै रुढीवादी विचार र संस्कृति हटाउने वचन पनि पालन गरिरहेका छन् । यो भनेको परम्परागत रुढीवादी पुजारीहरूका लागि ठूलो चुनौति हो जो विवाह केबल महिला र पुरुषबिच मात्र सम्भव छ भन्नेमा विश्वास गर्दछन् ।
अभिषेक संगभी एक जैन पण्डित हुन् जो कर परामर्शदाताका रूपमा काम गर्छन् । दुई पुरुषबिच जैन परम्परा अनुरूप विवाह गराएको २०१९ को उनको भिडियोले विश्वभरका समलिङ्गी जोडीलाई हौसला दिलाएको थियो । अभिषेक भन्छन्, ‘उनीहरू भर्खरका एकदम राम्रा देखिने जोडी थिए र जैन परम्परामा विवाह गर्न खोजिरहेका थिए । वास्तवमा सहभानुभूति नै जैन धर्मको आसय हो भन्ने मेरो बुझाइ छ । र सबै धर्म संस्कृतिले प्रेम गर्न सिकाउँछ ।’
अर्का डाक्टर शुभभाक दास पनि उनको कुरासँग सहमति जनाएका छन् । उनी क्रिस्चियनबाट हिन्दुमा परिणत, संस्कृतमा पिएचडी समेत गरेका व्यक्ति हुन् । उनी लस एन्जलसको लक्ष्मी नारायण मन्दिरका शीर्ष पुजारी हुन् । उनले हजारौँ विवाह गराएका छन् र भन्छन्, ‘मलाई त्यस्तो कुनै ठाउँ थाहा छैन जहाँ समलिङ्गीहरूको विवाह गराउनु हुँदैन या गर्नु हुँदैन भनिएको छ ।’
हालैको एउटा घटनाबारे बताउँदै उनले भने, ‘मैले केही समय अगाडि एक समलिङ्गी जोडीको विवाह गराउँदा तिनका अभिभावकले आँखाभरि आँसु लिएर मलाई आफ्नो छोरालाई हिन्दु समाजमा स्थान दिएकामा धन्यवाद दिएको अझै याद छ ।’ उनी थप भन्छन्, ‘यो संसारभरका सबै मानिसभित्र आत्मा बसेको हुन्छ । कहिले हाम्रो आत्मा पुरुषको शरीरमा हुन्छ भने कहिले महिलाको शरीरमा पनि हुन सक्छ । तर हामी सबै एकसमान हौँ ।’
दासले मोनिका मार्केज र निक्की बरुवाको विवाहमा पनि उनीहरूको धेरै हौसला बढाएका छन् । बरुवा भन्छिन्, ‘मोनिका र म हामी दुवै आफ्नो संस्कृतिप्रति एकदम धेरै आस्था राख्छौँ । हामीले सानैदेखि परम्परागत विवाहकै सपना देखेका थियौँ ।’ उनकी पार्टनर मोनिका चाहिँ मेक्सिकन–अमेरिकन हुन् । बरुवाका अनुसार उनीहरूलाई पनि आफूले चाहे जसरी विवाह गराइदिने पुजारी खोज्न अत्यन्तै कठिन भएको थियो । तर दासका कारण उनीहरूको सपना साकार भयो । उनी भन्छिन्, ‘दासले हामीलाई कहिल्यै असहज महसुस गराएनन् । हामीलाई सबै प्राकृतिक जस्तो अनुभव भयो र हाम्रो मिलापको क्षण वास्तवमै सुन्दर थियो । यसले हामी पनि यो समाजसँग आबद्ध छौँ भन्ने आभास गरायो ।’
दास र पाण्डे जस्ता प्रगतिशील पण्डितहरूको अहिले अमेरिकाभरि उच्च माग छ । र कतिपय अवस्थामा मद्दत गर्नकै लागि भनेर उनीहरू पुजारी भेटाउन सङ्घर्ष गरिरहेका जोडिलाई विवाह गर्दिन टाढा टाढाका सहरहरूमा पुग्ने गर्दछन् ।
सबै जाति एवम् धर्मप्रति स्वीकार्यको लामो इतिहास बोकेको भए पनि स्यान फ्र्यानसिस्कोमा समलिङ्गी जोडीको विवाह गराइ दिन मान्ने पुजारीको एकदमै अभाव छ । त्यहाँ थुप्रै हिन्दु मठमन्दिरहरू छन् तर कुनैमा समलिङ्गी विवाह गर्न अनुमति छैन । यस्तो थाहा पाएपछि माधुरी अन्जी र प्रीति नारायनन् अत्यन्तै दुःखी भएका थिए ।
प्रीति भन्छिन्, ‘तर अन्ततः हामीले दक्षिण एसियाली समलिङ्गी समूहमार्फत हाम्रा पण्डित राजा भट्टर लाई भेटायौँ जो आफै पनि यही समुदायका व्यक्ति हुनुहुँदो रहेछ ।’ उनी थप भन्छिन्, ‘हामीले परम्परागत समारोहका रमाइलो पक्षहरू राख्यौँ र अफ्ठेरा कुराहरू चाहिँ हटायौँ । हामी दुवै महिला भएकाले पुरुष र महिलाका लागि भनेर तोकिएका रिवाजको अर्थ थिएन ।’
यसरी उनीहरूले परम्परागत हिन्दु वैवाहिक समारोहलाई आफ्नै हिसाबले केही हेरफेर गरी संस्कृति अनुरूप नै विवाह गरेका हुन् । मनदेखि पूर्ण हिन्दु र खुला रूपमा समलिङ्गी पनि हुन पाउनुले जीवनलाई नयाँ अर्थ दिलाएको ताहिल शर्मा बताउँछन् ।
‘वेडिङ प्लानर’ पूर्वी शाहका अनुसार बिस्तारै यस उद्योगमा मानिसहरुको धारणा परिवर्तन भइरहेको छ । पुजारी, केटरर, मेहेन्दी लगाउने लगायत सबैले अहिले समलिङ्गी विवाहमा सहभागी हुन ‘नाइँ’ भन्दा बढी ‘हुन्छ’ नै भन्ने गरेको उनी बताउँछिन् । (नयाँ पेजबाट)