बेलबारी क्याम्पसमा राजकुमार लिम्बुद्वारा छात्रवृत्ति वितरण


अशोक गुरुङ – बेलबारी, ८ असोज । बेलबारी बहुमुखी क्याम्पसका प्राध्यापक राजकुमार लिम्बुले छात्रवृत्ति वितरण गरेका छन् । प्राध्यापक लिम्बुले बिहीबार क्याम्पसमा छात्रवृत्ति वितरण कार्यक्रमको आयोजना गरी स्नातक तहमा अर्थशास्त्र विषयमा ५० प्रतिशत भन्दा बढी अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेका हुन ।

५३ प्रतिशत ल्याउन सफल बिबिएस प्रथम वर्षका विद्या भट्टराई , ५१ प्रतिशत ल्याउन सफल केदार बास्तोला, ५३ प्रतिशत ल्याएका रेखा खड्का, ५० प्रतिशत ल्याएका सौगात बस्नेतले जनही १ हजार प्राप्त गरेका छन् भने दोस्रो वर्षमा अध्ययनरत ७० प्रतिशत ल्याउन सफल पूजा बस्नेतले ३ हजार, ६६ प्रतिशत ल्याएकी तारादेवी लिम्बुले २ हजार, ६५ प्रतिशत ल्याएकी छत्र बहादुर कार्कीले २ हजार, ५७ प्रतिशत ल्याउन सफल सुजन अधिकारी, ५५ प्रतिशत ल्याएकी मिरा खत्री, ५१ प्रतिशत ल्याएका आकाश गिरीले जनही १ हजार र गणेश बयलकोटीले रु.५ सय नगद प्राप्त गरेका छन् ।

राजकुमार लिम्बुले स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई अर्थशास्त्र विषयमा ५० प्रतिशत भन्दा बढी अङ्क प्राप्त गर्नेलाई आफ्नै लगानीमा छात्रवृत्ति वितरण गर्दै आएका छन् । छात्रवृत्तिको साथै विगत १० वर्षदेखि बेलबारी बहुमुखी क्याम्पसमा लिम्बुले निःशुल्क प्राध्यापन गराई रहेका छन् ।

कार्यक्रममा बोल्दै लिम्बुले भने शिक्षा जीवनको महत्त्वपूर्ण अङ्ग भएकोले छात्रवृत्तिलाई निरन्तर वितरण गर्दै लैजाने बताए । क्याम्पसका प्राध्यापक खगेन्द्र प्रसाद लुइटेलले प्राध्यापक लिम्बुको कार्यको प्रशंसा गर्दै बिद्यार्थीहरुलाई अध्ययन गर्नको लागि थप प्रेरणा मिलेको बताए ।

प्रतिक्रिया दिनुहोस्