बत्तीमुनिको अँध्यारो : बत्तीको वरिपरि बसेर उज्यालो खोज्ने बेलबारी -१, नक्सलका स्थानीयहरूको पीडा


बेलबारी, ११ श्रावण । बेलबारी –१, नक्सलबारीकी मनकुमारी दाहालको घर अघि बिजुलीको पोल गाडेको तीन वर्ष पुरा भएर चार वर्ष लाग्यो तर त्यहाँ बिजुली आउने त कुरै छाडौँ, अझैसम्म तार बिछ्याउने कामसमेत भएको छैन । बिजुलीको तार नहुँदा उनको परिवारले टाढाबाट मोटो रकममा बिजुलीको तार खरिद गरेर बत्ती बाल्न विवश हुनु परेको छ । घर अघि पोल भएर पनि टाढाबाट तार टाँगेर बत्ती बाल्नु परेकोमा उनलाई धेरै गुनासो लागेको छ । आफूहरूले दुई तिन घर मिलेर अर्कैकोबाट तार टाँगेर काम चलाएको मनकुमारी बताउँछिन् ।

नक्सलकै प्रतिमा नेपालीले गरिबीको कारण आफूले पढाइ छाडे पनि उनका तीनै जना बहिनीहरू नजिकैको जनता माविमा पढ्छन् । अहिले कोरोनाले गर्दा भौतिक रूपमा कक्षा लाग्न सकेको छैन । तर केही दिनदेखि विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको भए पनि भरपर्दो बिजुलीको व्यवस्था नहुँदा बहिनीहरूलाई अनलाइन कक्षा नियमितता गर्न कठिन भइरहेको उनी बताउँछिन् । टाढाबाट तार टाँगेर बिजुली ल्याउँदा भोल्टेजकोसमत समस्या हुने गरेको उनको गुनासो रहेको छ । 

गाउँमा बिजुली आउने भयो भनेर स्थानीयहरू हर्षित भएका तर यतिका समयसम्ममा बिजुली त परै जाओस् तारसमेत नआउँदा आफूहरू साह्रै दुखित भएको स्थानीय भीमबहादुर दाहाल बताउँछन् । यो समस्या समाधानका लागि धेरै प्रयास गर्दा पनि सुनुवाइ नभए पछि आफूहरूले मिडिया गुहार्नु परेको उनको तर्क रहेको छ । उनी भन्छन्यो ‘समस्या राखेको त कति भयो भयो तर कतैबाट पनि सुनुवाइ भएन । त्यही भएर मिडिया गुहार्नु पर्यो ।’ 

बिजुलीको समस्या हुँदा बेलाबेलामा गाउँमा पस्ने हात्ती हटाउनसमेत समस्या रहेको स्थानीय संजय श्रेष्ठ बताउँछन् । उज्यालो भए टाढैबाट हात्ती आएको देख्न सकिने र तिनीहरूलाई धपाउन सहज हुने उनको मत रहेको छ । 

नक्सलका मनकुमारी, प्रतिमा, भीमकुमार र संजय त प्रतिनिधि पात्र मात्र हुन् । यस क्षेत्रका अधिकांक्ष मानिस बिजुलीको समस्याबाट पीडित छन् । उनीहरू सबैको दुखेसो एउटै रहेको छ । ‘हाम्रो घर अघिको पोलमा कहिले तार टाँगिएला र हामीले बिजुली पाउँछौँ ?’ 

बेलबारी नगरपालिकादेखि वडा नं १ को राधाकृष्ण टोलमा पर्ने यो बस्ती विगत लामो समयदेखि उज्यालोबाट वञ्चित रहँदै आएको छ । ७२ घरधुरी रहेको यस टोल विकास संस्थाको पश्चिम क्षेत्रका करिब २०–२२ घरहरू रहेका छन् । स्थानीय पालिकाको निर्वाचन पश्चात् गाडिएका पोलमा अहिले सम्म पनि बिजुलीको तार पुग्न सकेका छैन । उनीहरू घर अघिको पोल हेरेर जीवन जिउन विवश छन् । तार नहुँदा स्थानीयले टाढाबाट तार टाँगेर महँगोमा बत्ती बाल्नु परेको छ । 

बिजुलीका लागि पटक पटक निवेदन दिए पनि आफूहरूको माग सुनुवाइ नभएको स्थानीयको गुनासो रहेको छ । उनीहरूले यसअघि पनि सामूहिक रूपमा निवेदन दिएका थिए तर त्यसको सुनुवाइ नभए पछि आइतबार पुनः नेपाल विद्युत् प्राधिकरण बेलबारी वितरण केन्द्रमा सामूहिक रूपमा निवेदन दिएका छन् ।

स्थानीयको निवेदन बुझ्दै प्राधिकरणका बेलबारी वितरण केन्द्रका प्रमुख धिरेन्द्र बजगाईँले तारको अभावमा उहाँहरूको काम नभएको, तारको व्यवस्थापन हुनसाथ यो काम हुने बताएका छन् । कोभिडका कारणले पनि सम्झौता गर्ने कम्पनीले सामग्री ल्याउन नसक्दा यो समस्या आएको आफूले यसबारे माथिल्लो निकायमा जानकारी गराइसकेको बताउँदै अब सामग्री उपलब्ध हुनसाथ प्राथमिकतामा राखेर काम गर्नेसमेत केन्द्र प्रमुख बजगाईँले बताएका छन् ।

यो क्षेत्रमा बाटोको पनि उत्तिकै समस्या रहेको छ । साँघुरो बाटोमा दैनिक ट्रिफर कुदिदिँदा आफूहरूलाई सा–साना केटाकेटीहरू दुर्घटनामा पर्ने हुन् कि भन्ने चिन्ताले उत्तिकै सताउने गरेको स्थानीय बताउँछन् । स्थानीय सन्तबहादुर तामाङ कामबाट फर्किदा स–साना नानीहरू सकुशल हुने हुन् कि होइनन् भन्ने डरले सताइरहने गुनासो गर्छन् । उनी भन्छन् ‘ठूला मान्छे काममा जानु पर्छ । ट्रिफर आतङ्कले गर्दा भरे घर फर्किदा साना नानीहरू सकुशल रहने हुन कि होइनन् भन्ने कुराले सताइ रहन्छ । डराइ डराइ काममा जानु पर्छ ।’

बिजुली बत्ती, बाटोको मारबाट पीडित यस भेगका जनता लामो समयदेखि तटबन्धको समस्याबाट पनि उत्तिकै पीडित छन् । अव्यवस्थित रूपमा हुने उत्खननका कारणले गर्दा लोहान्द्रा खोला गाउँमै छिर्नलागेकोमा आफूहरू सधैँ त्रासमा बाँचिरहेको स्थानीय गणेशबहादुर दाहाल बताउँछन् । उनी भन्छन् ‘खोला तटबन्ध गछौँ भनेका थिए । आसा लागेको थियो । यतिका वर्ष त आसामै बित्यो तर अब त काम हुँदैन कि भन्ने जस्तो लाग्न थालेको छ ।’ तर खोलाको उत्खनन नरोकिएकोले त्रास झन् झन् बढिरहेको उनको अनुभव रहेको छ ।

पछिल्लो समय विकास निर्माणका सम्पूर्ण काम टोल विकास संस्थामार्फत हुँदै आएको छ । टोलका समस्या टोलले नै बुझेको हुन्छ भन्ने मान्यताका साथ टोल विकासको अवधारणा आएको हो । तर कतिपय ठाउँमा यस्ता टोल विकास संस्थाहरू पनि निष्क्रियजस्तै बनेका छन् भने कतिपय ठाउँमा त टोल विकासले सिफारिस गरेर पठाएका कामसमेत हुने गरेका छैनन् । राधाकृष्ण टोल विकास संस्थाका अध्यक्ष टेकराज खड्का आफूले यो समस्याको बारेमा पटक पटक वडा कार्यालय तथा बिजुली अफिस मासमेत जानकारी गराएको तर अहिलेसम्म पनि काम नभएको बताउँछन् । ट्रिफर चलाउन नदिने निर्णय भए पनि त्यसको कार्यान्वयन गर्न भने आफूहरूले नसकेको उनी स्विकार्छन् । 

उक्त स्थानमा विगत १७–१८ वर्षदेखि अघि देखि नै बेलबारी साना सहरी खानेपानी परियोजनाको ट्याङ्की रहेको छ । जसका लागि गाउँकै बिचमा ट्रान्समिटर जोडिएको छ । तर विडम्बना यो गाउँमा भने बिजुली पुग्न सकेको छैन । ट्रान्समिटरको वरिपरि अँध्यारो हुनुलाई स्थानीयले भने यसलाई टुकी अर्थात् बिजुली बत्ती मुनिको अँध्यारोको रूपमा लिएका छन् ।                         

जनप्रतिनिधिले आवश्यक पहल नगरेको स्थानीयहरूले गुनासो गरिरहँदा बेलबारी नगरपालिका वडा नं १ अध्यक्ष चक्रबहादुर खुलाल भने उक्त क्षेत्रमा विद्युत् विस्तार गर्ने काममा वडा कार्यालय लागिरहेको बताउँछन् । विविध कारणले गर्दा विद्युतविस्तारको काममा केही ढिला भएको स्वीकार गर्दै तर यस वर्षको असोज सम्ममा भने त्यहाँ बिजुलीको तार पुर्‍याउने गरी काम भइरहेको अध्यक्ष खुलाल बताउँछन् । साथै अध्यक्ष खुलाल विद्युत् विस्तारको काम सङ्घीय सरकार अन्तरगत पर्ने भएकोले समन्वयात्मक रूपमा केही कठिनाइ रहँदा काम गर्न ढिलाइ भएको उनको ठहर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्