एकेडेमी अन्तिम चरणमा प्रवेश : तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप


बेलबारी , ६ असोज  /  मोरङको लक्ष्मीमार्गमा जारी तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौँ  अन्तिम चरणमा प्रवेश गरेको छ ।


सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा गोर्खा ब्वाईज क्लब बुटवललाई ३–२ गोल अन्तरले निराश बनाउँदै एकेडेमी सेमिफाइनलमा पुगेको हो । एकेडेमीकातर्फबाट तपन कार्की, प्रकाश बुढाथोकी र भूषण सुब्बाले १/१ गोल गरे । गोर्खाका तर्फबाट दुवै गोल दीपक राईले गरेका हुन् ।

पहिलो हाफको सुरुवातमै अग्रता लिए पनि खेलाडीले लय गुमाउँदा गोर्खा नतिजा विपक्षीलाई सुम्पिएर घर फर्कियो । गोर्खाको सेमिफाइनल यात्रामा पूर्ण बिराम लाग्नुमा रक्षा पंक्ती र गोलरक्षक सोजित गुरुङको गल्ती देखियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको एकेडेमीले पनि जितका लागि निक्कै सङ्घर्ष गर्नु प¥यो ।


गोर्खाका दीपक राईले १८ औँ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । विजय धिमालले दिएको क्रस पासमा गोलरक्षक रोहित कार्की अगाडि बढेको मौका छोपेर बललाई भली गर्दै राईले दर्शनीय गोल गर्दा एकेडेमी दबाबमा प¥यो । तर गोर्खाको यो खुसी ६ मिनेट मै अन्त्य भयो ।

२४ औँ मिनेटमा जवाफी गोल फर्काउँदै तपन कार्कीले खेललाई बराबरीमा ल्याएर एकेडेमीलाई खेलमा फर्काए । गोर्खाका रक्षा पंक्तीका खेलाडी अलमलमा परेको र गोलरक्षक सोजित गुरुङ अगाडि बढेको मौकामा उमेश कार्कीले दिएको क्रस पासलाई सदुपयोग गर्दै तपनले भली गरेर बललाई पोस्टको दिशा दिएका हुन् ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । ७४ औँ मिनेटमा एकेडेमीका प्रकाश बुढाथोकीले गोल गर्दै खेललाई २–१ को गोल अन्तरमा लगेर आफ्नो टिमलाई जित नजिक पु¥याए । तपन कार्कीले मध्य भाग अघिबाट दिएको पासमा एक्लै अघि बढेका बुढाथोकीले वान भर्सेस वानको स्थितिमा बललाई जाली चुमाउँदा गोर्खा तनावमा प¥यो । ७९ मिनेटमा भूषण सुब्बाले व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गर्दै एकेडेमीको जित निश्चित गर्दा गोर्खा निराश बन्यो । अघि बढेका गोलरक्षक सोजित गुरुङले बललाई नियन्त्रणमा लिन नसक्दा खाली पोस्टमा २५ यार्ड टाढाबाट सुब्बाले गरेको प्रहारले पोस्टको बाटो लिएको थियो ।


८१ औँ मिनेटमा दीपक राईले गोल गर्दै खेललाई ३–२ को अवस्थामा पु¥याए पनि गोर्खालाई जितका लागि पर्याप्त हुन सकेन । राईले करिव ४० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहारले सिधै पोस्टको बाटो तय गर्दा एकेडेमीका गोलरक्षक रोहित कार्कीले ठिम्याउनसम्म पनि सकेनन् ।

दुवै टिमले गोल गर्नका लागि पाएका अरु केही राम्रा अवसर सदुपयोग गर्न सकेनन् । ४ औँ मिनेटमा एकेडेमीका तपन कार्कीले वान भर्सेस वानमा गरेको प्रहारलाई उत्कृष्ट ढंगले बचाउँदै गोर्खाका गोलरक्षक गुरुङले आफ्नो टिम विरुद्ध सुरुवाती गोलको संकट टारेका थिए । २७ औँ मिनेटमा कार्कीको पासमा सुशन तामाङले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पनि गुरुङ बाधक बने । ६१ औँ मिनेटमा भूषण सुब्बा पनि वान भर्सेस वानमै चुके ।

४३ औँ मिनेटमा गौतम श्रेष्ठको कर्नर प्रहारमा सुशील लामाको प्रहार क्रस बारमाथिबाट बाहिरिएपछि गौर्खाले मध्यान्तर अघि दोस्रो गोल गर्न सकेन । ७२ औँ मिनेटमा दीपक राईको पासमा भुवन बस्नेतको प्रहार क्रस बारमाथिबाट बाहिरिनु गोर्खाका लागि दुर्भाग्यपूर्ण बन्यो । ७८ औँ मिनेटमा गोर्खाका दीपकको प्रहार रोक्दै गोलरक्षक गुरुङले खेललाई बराबरी हुन दिएनन् । उत्तम गुरुङको पासमा ८४ औँ मिनेटमा दीपकले नै टाउकोले गरेको प्रहार पहिलो बार हुँदै बाहिरिएपछि गोर्खाको हार निश्चित बन्यो ।

प्रतियोगिता आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष विक्रम वान्तवा राईकाअनुसार सोमबारको खेलको म्यान अफ दी म्याच मदन भण्डारी एकेडेमीका तपन कार्की घोषित भएको बताए । मंगलबारको अन्तिम क्वार्टरफाइनल खेलमा विभागिय टिम नेपाल पुलिस क्लब र रोयल क्लब वेष्ट बंगाल भारतबीच प्रतिस्पर्धा हुनेछ ।

      (फोटो क्याप्सन : बलका लागि प्रतिस्पर्धा गर्दै गोर्खा (पहेंलो जर्सी) र एकेडेमी (सेतो जर्सी) का खेलाडी । )

प्रतिक्रिया दिनुहोस्