पूर्वाञ्चलमा छैन स्वास्थ्य मापदण्डको पालना : उपचारभन्दा कोरोना संक्रमित हुने सेवाग्राहीको डर


व्यवस्थापनमा चरम लापरबाही देखिएको भन्दै सेवाग्राहीहरू आक्रोशित, २४ घण्टै डाक्टर रहने व्यवस्था गर्न आग्रह

सुन्दरहरैँचा, ४ श्रावण । स्वास्थ्य मापदण्डको उचित रूपमा पालना हुन नसक्दा उपचार गर्न अस्पताल गएका सेवाग्राहीहरू उपचारभन्दा पनि कोरोना लिएर फर्किनु पर्ने पो होकि भनेर चिन्तित बन्ने गरेका छन् ।                       

कोरोनाको महामारी यथावत् रहिरहेको बेलामा सुन्दरहरैँचा नगरपालिका, गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा सञ्चालित अस्पताल भित्रको भिड हेर्दा कोरोनाको कुनै त्रास नै नभएको भान हुन्छ । यति धेरै भिडभाड हुने ठाउँमा स्वास्थ्य मापदण्डको पालनामा न्यूनतम सचेतनासमेत अपनाएको देखिँदैन ।

नेपाल सरकारद्वारा सञ्चालित अस्पतालको त यस्तो अवस्था छ भने अन्यतिर कस्तो अवस्था होला भनेर सजिलै अनुमान लाउन सकिन्छ । सरकारले स्वास्थ्य मापदण्ड तथा भौतिक दुरीको जति नै कुरा गरे पनि त्यो कहिकतै पनि पालना भएको देखिँदैन । भिडभाडमा नजानु, जानू परे पनि स्वास्थ्य मापदण्डको पालना गरेर दुई मिटरको भौतिक दुरी कायम गर्नु भन्ने स्वास्थ्य मन्त्रालयबाट जारी सूचनाहरू सुन्नमा जति कर्णप्रिय लागे पनि व्यवहारमा भने ती सबै औपचारिकता निभाउन प्रयोग गरिएका कुरा मात्र हुन जस्तो भान हुन्छ ।

भौतिक दुरीको त कुरै छाडौँ अस्पतालमा आउने सेवाग्राहीले साबुन पानीले हात धुने राम्रो व्यवस्थासमेत छैन । अस्पतालको मुलद्वारअघि एउटा हात धुने पानीको ट्याङ्की त छ तर त्यसले काम गरिरहेको भने पाइँदैन । पानी पनि छैन, धारालो काम गरेको छैन भनेर सेवाग्राही त्यतिकै फर्किरहेका भेटिन्छन् । ट्याङ्कीमा पानी भर्ने तथा एउटा सानो टुटी फेरेर धारा सञ्चालन गर्ने कामसमेत नहुँदा सेवाग्राहीहरू दुखित भएका छन् ।                                               

अस्पतालको रिसेप्सन अघिको प्रतीक्षालय कक्षको आइतबार बिहान ९–१२ बजेसम्म देखिएको भिडले एउटा व्यस्त तथा अव्यवस्थित बजारको झलक दिने गर्थ्यो । रिसेप्सनमा रहेका ३ जना कर्मचारीले आएका सेवाग्राहीलाई ओपिडी कार्ड भरेर दिनसमेत भ्याइरहेका थिएनन् । टोकन वा पालो प्रणालीमा काम गर्ने हो भने भिड व्यवस्थापन गर्न सकिने ठाउँ हुँदा हुँदै पनि त्यतातर्फ सोच पुर्याएकै देखिँदैनथ्यो ।

उपचार गराउन बिहानैदेखि आएर लाइन लाग्दा पनि आफूहरूको पालो नआएको तर धेरै पछि आउनेले पनि उपचार गराएर गइसकेको भन्दै सेवाग्राहीहरू आक्रोशित देखिन्थे । पालो सिस्टम नहुँदा जसको शक्ति उसको भक्ति जस्तो भएको सेवाग्राहीहरूको आरोप लगाउँदै गरेको भेटिन्थे ।   

अस्पतालमा भेटिएकी सुन्दरहरैँचाकी १० की इन्द्रदेवी विष्ट आफू बिहान ९ बजेदेखि पर्खिरहेको तर १२ बजेसम्ममा पनि पालो नआएकोमा गुनासो गदैथिइन । उनले स्वास्थ्य बिमामार्फतको उपचार गर्न त्यहाँ आएको बताइन् ।  

पहिलो पटक विश्वविद्यालय उपचारका लागि आएको बताउने सुन्दरहरैँचा, ठडियाकी सरीता भट्टराई आफूले साह्रै दुःख पाएको अनुभव सुनाइन् । नियमित रूपमा औषधि खाइरहने नोबेल विराटनगरमा रेफर लिन आएको बताउने भट्टराईले अस्पतालको व्यवस्थापन देखेर साह्रै दुःख लागेको बताइन् । ‘यहाँ कुनै सिस्टम रहेनछ । जसको शक्ति उसको भक्ति जस्तै रहेछ । कोरोना लागेर गइएला जस्तो भइसक्यो । यहाँ आउँदा झनै असुरक्षित महसुस भयो ।’ कराउँदा कराउँदा थाकेर बसिरहेकी भट्टराईले यसरी गुनासो पोखिन् ।

मोरङको केराबारीबाट सानी छोरीको उपचार गर्न आएका रेवतबहादुर कार्की विशेषज्ञ डाक्टरहरू समयमा नआइदिँदा सेवाग्राही ठूलो समस्यामा परेको बताउँदै थिए । सरकारले २४ घण्टै विशेषज्ञ डाक्टर बस्ने व्यवस्था गर्नु पर्ने उनको जिकिर रहेको थियो ।  

यस्तै पिडा पोख्दै गरेको भेटिए मोटरसाइकल दुर्घटनामा परेर उपचारका लागि आएका सूर्य रिमाल ।  यो त व्यवस्थापनको अति नै लापरबाही भयो भन्दै अस्पताल प्रशासनमा डेलिगेसनमा पुगेका रिमाल आक्रोशित हुँदै भन्दै थिए ‘यहाँ चरम लापरबाही छ । यहाँ कोरोनाको सावधानी शून्य प्रतिशत रहेको छ भन्दा पनि हुन्छ ।’  

आमाको उपचारका लागि विश्वविद्यालय आएका बेलबारी –४ काकुमका रुक्मणि राई सानो काम पनि नहुने हो भने किन विश्वविद्यालय आउने भनेर प्रश्न गर्छन् । सानो परीक्षणसमेत यहाँ नहुने हो भने बिमा गरेर विश्वविद्यालय आउनुको कुनै अर्थ नरहेको उनको मत रहेको छ । बाहिरबाट परीक्षण गरेर ल्याउनु भनिएकोले आफूले परीक्षणका लागि विल नै नकाटी फर्किएको बताए ।                     

सुन्दरहरैँचाका विशाल राई कोरोनाको महामारीमा उपचाभन्दा पनि रोग लिएर जाने सम्भावना बढी रहेको बताउँछन् । रेफर लिनका लागि आएको तर ३–४ घण्टामा पनि काम नभएको बताउँदै राई यसले त स्वास्थ्य बिमाप्रति जनताको वितृष्णा बढेको धारण राख्दछन् ।

यी माथिका त प्रतिनिधि पात्र मात्र हुन् । यहाँ आउने अधिकांक्षकै यस्तै गुनासो रहने गरेको छ । तर अस्पताल प्रशासन भने सेवाग्राही र माथिल्लो निकायलाई दोष देखाउँदै उम्किन खोजिरहेको भेटिए । आवश्यक कर्मचारी छैनन् । भएका कर्मचारी परिचालन भएको तर सेवाग्राहीले नै नटेर्दा व्यवस्थापनमा केही समस्या आएको उनीहरूको गुनासो रहेको छ । ‘हामीले प्रयास गरिरहेका छौँ तर सेवाग्राही नै भनेको मान्नु हुन्न, उहाँहरूलाई जसरी भए पनि चाँडो गर्नु छ । त्यही कारणले व्यवस्थापनमा केही समस्या देखिएको हो ।’  

लामो समय पछि अस्पताल खुले कारणले हुनाले पनि सेवाग्राहीको भिडलागेको बताउँदै यसलाई आगामी दिनमा व्यवस्थित गर्दै लाने अस्पतालका प्रशासन प्रमुख धिरेन्द्र मल्लिक बताउँछन् । अधिकांक्षले भने यहाँ आउँदा डाक्टर नै नहुने गरेको गुनासो गर्ने गरेका छन् ।

अस्पतालमा आउने विशेषज्ञ डाक्टरहरूको कुनै निश्चित समय नभएको, १० बजेसम्म आउनु पर्ने डाक्टरहरू कहिलेकहीँ त ११ बजेसम्म पनि आई नपुग्ने तर आएको केही समयमै उनीहरू हिँड्ने गरेको गुनासो सेवाग्राहीको रहेको छ । साथै पुरै समय डाक्टर बस्ने व्यवस्था हुनुपर्ने उनीहरूको माग रहेको छ । 

त्यहाँ आएका विशेषज्ञ डाक्टर किन समयभरि बस्दैनन् ? किन २ घण्टाजति काम गरेर फिरिहाल्छन् ? भन्ने सवाल खोज्दा उनीहरूको सम्झौता नै त्यही अनुसारको भएको बताइएको छ । त्यसो त यस अस्पतालमा विशेषज्ञता सेवा दिन आउने डाक्टरहरू दैनिक ज्यालादारीमा नियुक्त भएका हुन् । धेरैसाल अघि तोकिएको तलबमान अहिलेसम्म परिमार्जन हुन सकेको छैन ।

डाक्टरले सेवाअनुसारको पारिश्रमिक नपाउँदा यो समस्या आएको हो, यदि समयसापेक्ष रूपमा पारिश्रमिकको व्यवस्था गर्ने हो सेवाग्राहीले भने बमोजिम सेवा दिलाउन सकिने विश्वविद्यालयमा भेटिएका एक जना कर्मचारीले गुनासो पोखे । राज्यले उपेक्षा गरेका कारणले पनि यो समस्या समाधान नभएको ती कर्मचारीको मत रहेको छ । हुन पनि अस्पतालको निर्देशकको पद खाली भएको झण्डै एकसाल हुन लागिसक्यो । कुर्सीको लडाइमा लागिरहेका राजनैतिक पार्टी र तिनका नेताको प्राथमिकतामा जनताको स्वास्थ्य– शिक्षा नपर्दा पनि यस्तो हुने गरेको जनाकारहरू बताउँछन् ।

सरकार परिवर्तन हुनासाथ हुने भिसी, डिन तथा डाइरेक्टर परिवर्तनका कारणले पनि यस्ता समस्या ज्युँ का त्युँ रहने गरेको पाइन्छ । यसअघिका अस्पताल निर्देशक विपेश आचार्य रहँदा विश्वविद्यालयको व्यवस्थापनमा केही सुधार आएको बताइए पनि उनको सरुवासँगै फेरि अस्पतालको अवस्था बिग्रन पुगेको बताइन्छ । 

अस्पताल व्यवस्थापन तथा डाक्टरको समयको बारेका गुनासा नयाँ भने होइनन् । विगत लामो समयदेखि सेवाग्राहीले यही गुनासो गर्दै आएका छन् । यसबारेमा पूर्व भिसी प्रा.डा. घनश्यामलाल दासले यो समस्या चाँडै समाधान हुने बताएका थिए । तर आज पनि त्यही समस्या ज्युँका त्युँ रहेको छ । 

यो समस्या किन समाधान भएर भन्ने सवालमा वर्तमान भिसी डां यादवप्रसाद कोइराला डाक्टरहरूसँग सम्झौता नै त्यही अनुसार भएकोले उनीहरूलाई पुरा समय काममा लगाउन नसकिएको बताउँछन् । तर त्यो पुरानो सम्झौताको अवधि सकिन लागेकोले अब हुने नयाँ सम्झौता भने दिनभर डाक्टर रहने गरी गरिने डां कोइरालाको विचार रहेको छ ।  

अघिल्ला वर्षहरूमा सुनसानजस्तो देखिने यो अस्पताल सरकाले स्वास्थ्य बिमा कार्यक्रम लागू गरेपछि भने केही व्यस्त बन्न पुगेको हो ।               गाउँमै स्वास्थ्य सेवा पाउने आसमा स्वास्थ्य बिमा गरेका तर अस्पतालको यस्तो कमजोर व्यवस्थापनले जनतामा स्वास्थ्य बिमाप्रति नै वितृष्णा जाग्न थालेको पाइन्छ । ‘यस्तो हुने हो भने बिमा गर्नुको के औचित्य रह्यो र, यसपालि गरिहालियो आगामी वर्ष भने रिन्यु गरिँदैन’ भन्नेसमेत भेटिए । यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिएको छ ।      

प्रतिक्रिया दिनुहोस्