जीवित सुभाषको साथमा मृत्युदर्ता प्रमाणपत्र, नागरिकता बन्न सकेन : प्रजिअ निरौला भन्छन्, “चाँडै बन्छ”


बेलबारी, २६ असार ।  बेलबारीका सुभाष तामाङ यतिखेर आफ्नै मृत्यु दर्ताको प्रमाण पत्र लिएर हिँडिरहेका छन् । सशरीर हुँदा पनि उनलाई आफू जीवित भएको प्रमाण दिन कठिन भइरहेको छ । जिउँदै भएर पनि कानुनी रूपमा भने मृत घोषित भएका व्यक्ति हुन् , सुभाष । 

०३८ मा साबिकको कुदाककाउले गाविस, भोजपुर जन्मिएका सुभाष केही सालदेखि बेलबारी ११ लक्ष्मी मार्गमा बस्दै आएका छन् । रोजगारीका सिलसिलामा साउदीमा रहेका सुभाषको दुर्घटनामा परेर मृत्यु भएको भन्दै केही साल अघि घरमा उनको शव आयो । परिवारले पनि उनी मरेको विश्वासमा काजक्रिया सके । 

तर काजक्रिया सकेको केही हप्ता पछि उनी जीवितै भएको खबर प्राप्त भयो । साउदीमै रहेका सुभाषका भाइले उनी उपचाररत रहेको अस्पतालमै पुगेर उनलाई भेट । र घरमा दाजु जीवितै भएको खबर गरे । साथै भाइकै सहयोगमा उनले फोनमार्फत आफू सकुशल भएको खबर सुनाउन सफल भए । मृत्यु भएको भनेर काजक्रियासमेत सकेका मानिसको फोनले गाउँलेहरू आश्चर्यचकित भए । कतिलाई त त्यो कुरा पत्यार पनि लागेन । धेरैले त हावा कुरा भनेर उडाए । सुभाषकी श्रीमतीले श्रीमान् जीवितै रहेको खबर गाउँघरमा सुनाउँदा श्रीमान्को पिरले यो त पागल भइछे सम्म भने । 

‘काजक्रिया सकेका केही दिन पछि उहाँको फोन आयो । हामीलाई त झाँगाबाट खसेझैँ भयो । खुसीको सीमा नै रहेन । सुरुमा त गाउँलेले उहाँ जीवितै हुनुहुन्छ भन्ने कुरालाई पत्याएनन् । मलाई श्रीमानको पीडाले पागल भइछे भन्नसमेत पछि परेनन् ।’ सन्तोषीले भनिन् ।  

त्यसो त सन्तोषीलाई भने श्रीमानको मृत्युको कुरा विश्वास नै लागेको रहेनछ । उनी आफूले नियमित रूपमा श्रीमान् विदेशमै अस्पतालमै उपचार गराइरहेको सपना देख्ने गरेको बताउँछिन् । उनलाई अहिले त्यो त्यो क्षणको बारेमा कल्पना गर्दा पनि रुन मन लाग्छ । सबै कुरा सपनाजस्तै भएका छन् । 

घटना यस्तो भएको रहेछ । तलब झिकेर कोठामा फर्किने क्रममा सुभाषसहित चार जना सवार ट्याक्सी दुर्घटनामा परेर उनका तीनै जना साथीहरूको मृत्यु भएछ । उनी भने बाच्न सफल भएछन् । तर उपचाररत रहेका सुभाषलाई कम्पनीले भने मृत्यु भएको ठानेर अर्कैको लासलाई उनको भनेर मृत्यु दर्ता प्रमाणपत्रसहित नेपाल पठाइदिएछ । 

उता शुभाषकोे भनेर नेपाल पठाइको लास चाहिँ नवलपरासीका तेजेन्द्र भण्डारीको रहेछ । तेजेन्द्र दुर्घटनामा परेको ट्याक्सीका चालक थिए । सुभाषले भने तीन महिना पछि होसमा आउँदा आफ्नो मृत्यु भएको भनेर घरमा अकैको लास पठाएको र काजक्रियासमेत सकेको थाहा पाए ।                           

सुभाष जाती त भए तर कागजात नहुँदा घर फिर्न भने पाएनन् । उनको पटक पटकको आग्रह र दबाब पछि कम्पनीले कागजात बनाइदियो । अन्त्यमा १८ महिनाको बसाइ पश्चात् घर फर्किन सफल भए । सुरुमा लास पहिचान गर्ने काममा कमजोरी गरे पछि भने कागजात तयार गरेर घर पठाउन कम्पनीले ठुलो गुन लाएको सुभाष बताउँछन् ।                                                           

श्रीमती र छोराछोरी बेलबारीमा रहे पनि उनी सिधै घर आउन पाएनन् । उनलाई भोजपुरमा रहेको घरमा लगियो । पुनः जन्मँदा गरिने संस्कार पश्चात् बेलबारीमा रहेकी श्रीमतीलाई बोलाएर पुनः विवाह गरे पछि मात्र सुभाषको श्रीमती र छोराछोरीसँग भेट भयो । 

दुर्घटनामा परेर आएका हुनाले सुभाषको मानसिक सन्तुलन त्यति राम्रो थिएन । उनी सुरु सुरुमा कोहीसँग पनि नबोल्ने, बोले पनि हाँसी मात्र रहने गर्थे । यसले झनै उनको परिवारलाई विचलित बनाएको थियो । त्यसो अझै पनि उनी पूर्ण रूपमा ठिक भने भएका छैनन् । दुई जना सन्तानको पालनपोषण र शिक्षा दीक्षा कसरी गर्ने होला भन्ने कुराले उनकी श्रीमतीलाई पिरोल्दिरहन्छ ।  

सुभाष घर त आए तर उनीसँग जीवित रहेको कुनै प्रमाण पत्र छैन । उनी लामो समयदेखि आफू जीवित रहेको प्रमाणका लागि लडिरहेका छन् । यस कामका लागि उनले धेरै पटक जिल्ला प्रशासन कार्यालय  धाएका छन् । सुरुमा उनलाई यही नागरिकताले काम दिने बताइएको थियो । तत्कालीन मोरङका प्रजिअले नै एउटा मानिसका दुई वटा नागरिकता बन्न सक्दैन, यही पुरानै नागरिकताले काम गर्छ भने पछि उनी ढुक्क भएका थिए । तर एक पटक मृत प्रमाणित भैसकेको मानिसका पुराना प्रमाणले काम नगर्ने थाहा पाए पछि उनी झनै असमञ्जसमा परे । त्यसपछि भने उनी आफूसँग भएको मृत्यु दर्ता प्रमाण पत्र बदर गरेर जीवित रहेको प्रमाण पत्र बनाउने काममा जुटिरहेका छन् । 

पछिल्लो समय बेलबारी नगरपालिकाले पनि उनलाई यो काममा सहयोग पुर्‍याई रहेको छ । उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाकै गाडीमा हालेर उनलाई जिल्ला प्रशासन कार्यालय मोरङका प्रजिअसँग पुर्‍याएर सुभाषको नागरिकता बनाइदिन आग्रह गरिन । 

त्यसैले यसपालि भने उनी बढी आसावादी देखिएका छन् । जिल्ला प्रशासन कार्यालय पुगेर फर्किए पछि भने उनी अब भने आफ्नो काम बन्नेमा विश्वस्त देखिएका छन् । उनी भन्छन् , “अब चाहिँ धेरै आसा पलाएको छ । प्रजिअ ज्युले म आफै लागेर तपाईँको काम गर्छु भन्नु भएको छ ।” 

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले उपप्रमुखसहितको टिमलाई ‘मृत्यु दर्ता प्रमाणपत्र ईस्यु भइसकेकोले प्रक्रिया पुरा गर्नु पर्दा केही दिन लाग्न सक्छ तर उहाँको काम भने हुने बताएका छन् । 

यता बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुली पनि यो घटनाको बारेमा आफू जानकार भएको तर प्रक्रियागत कारणले गर्दा उनले आफ्नो पुरानो परिचय पाउन केही ढिला भएको तर अब उनको काम हुनेमा आफू ढुक्क भएको बताइन् । 

सामान्य आर्थिक अवस्थाबाट गुज्रिरहेको उनको परिवारमा अहिले श्रीमती र दुई जना सन्तान रहेका छन् । सुभाषकी श्रीमतीले बेलबारी ११ लक्ष्मी मार्गमा एउटा सानो चिया पसल चलाएर बसेकी छिन् । एउटा भएको सानो घर धरौटीमा राखेर गरिएको व्यवसाय कोरोनाका कारण चल्न नपाउँदा त्यही भएको एउटा घर पनि गुम्ने पो हो कि भन्ने उनकी श्रीमतीलाई चिन्ताले सताएको छ । उनीहरू स्थानीय सरकारले केही गरिदिए हुन्थ्यो भन्ने आसामा बसिरहेका छन् ।  

प्रतिक्रिया दिनुहोस्