पुरै गाउँ अलकत्र प्रदूषणको मारमा : प्लान्ट हटाउन स्थानीयको माग


सुन्दरहरैँचा, २३ असार । मोरङको सुन्दरहरैँचामा सञ्चालनमा आएको अलकत्र उत्पादन गर्ने अस्पाल प्लान्टले जनताको स्वास्थ्यमा प्रतिकुल असर गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।                                                   

सुन्दरहरैँचा –६ मा दुर्गा मन्दिर टोल विकास संस्थामा पर्ने गछिया खोला नजिकै निर्माण भएको अलकत्र उत्पादन गर्ने, अस्पाल प्लान्टले वायु प्रदूषण गरेपछि स्थानीयहरू आन्दोलित भएका हुन् ।                                               

यस्ता प्रकृतिका उद्योग सञ्चालन गर्नु पूर्व वातावरणीय प्रदूषण अध्ययन गरी त्यसको प्रमाण पत्रसमेत लिनु पर्नेमा सो नगरी प्लान्ट सञ्चालन गर्दा आफूहरूको स्वास्थ्यमा प्रतिकुल असर गरेको, यदि यो प्लान्ट यही स्थानमा चल्ने हो भने बालबालिका तथा दीर्घ रोगीहरूको स्वास्थ्यमा झनै ठूलो समस्या आउने स्थानीयहरू बताउँछन् । स्थानीय मुनाल कालाखेति, रुद्र निरौला र शारदा ढकालको संयुक्त लगानीमा रहेको भनिएको उद्योगले सुरुमा होम पाइप, पोल लगायतका सामग्री उत्पादन गर्ने भनेर भनिए यतिखेर अलकत्रसमेत उत्पादन गर्दै आएको छ । गाउँलेको आँखा छलेर राती राती अलकत्र उत्पादन गर्ने गरेको स्थानीय बताउँछन् ।

उद्योगले यसरी स्थानीयलाई झुक्याएर अलकत्र उत्पादन गर्नथाले पछि स्थानीयले उद्योग बन्द गर्न दबाब दिँदै आएका थिए । तर सञ्चालकले उद्योग बन्द गर्न दबाब दिनेको घरघरमा प्रहरी पठाए पछि भने स्थानीय झनै आक्रोशित भएका छन् । 

यता सञ्चालकमध्येका शारदा ढकालले भने उद्योग सुरक्षाको लागि प्रहरीको सहयोग लिएको, स्थानीयको घरघरमा प्रहरी नपठाएको दाबी गरेका छन् । स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा संचारकर्मीसमेतको उपस्थिति रहेको भेलामा उनले भने ‘स्थानीयले अवरोध गरे पछि हामीले उद्योगको सुरक्षाका लागि मात्र प्रहरीसँग अनुरोध गरेका थियौँ । घरघर भने प्रहरी पठाइएको छैन ।’ 

तर स्थानीयले भने उद्योग सञ्चालकले घरघरमा प्रहरी पठाएर धम्क्याएकोसमेत आरोप लाएका छन् । ‘आफै जनताको स्वास्थ्यमा खेलबाड गर्ने, यसो गर्न पाइन्न भन्नेको घरघरमा प्रहरी पठाएर धम्क्याउने’ भनेर उनीहरूले आक्रोश पोखेका थिए ।

आफूलाई अस्पाल उत्पादन गर्ने जानकारी नभएको, आफूले स्थानीयको सहमति लिएर आउन भनेको तर सञ्चालकले कम्पनी रजिस्टर कार्यालयले वातावरणीय मापदण्ड पुरा गरेर मात्र दर्ता प्रमाण पत्र दिने, उद्योग दर्ताका लागि प्रक्रिया मात्र अघि बढाइदिन अनुरोध आए पछि आफूले पक्रिया अगाडि बढाउन सिफारिस दिएको सुन्दरहरैँचा नगरपालिका वार्ड नं ६ अध्यक्ष जीवन राई बताउँछन् ।

तर आफू सधैँ जनताकै पक्षमा रहेको बताउँदै स्थानीयको स्वास्थ्यमा प्रतिकुल असर पार्ने काम गर्न नपाइने, यदि त्यस्तो भएको भए अलकत्र उत्पादन गर्ने काम रोक्नु पर्ने उनी बताउँछन् । 

उद्योग संचालकमध्येका  शारदा ढकालले भने स्थानीयसँग सरसल्लाह गरेर नै काम गरेको, वातावरणीय प्रदूषणको मापदण्ड पूरा गरेको दाबी गरे पनि अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने काम नभएको पाइएको छ । तर उनी उल्टै यसबाट स्थानीयले भनेजस्तो वातावरणीय प्रदूषण नहुने दाबी गर्दै आएका छन् । साथै कम्पनीले यसका लागि भारतबाट नयाँ प्लान्ट झिकाएको बताउँदै कम्पनीबाट प्राविधिक बोलाएर त्यसको परीक्षण गर्ने, यदि त्यसो गर्दा पनि स्थानीयको स्वास्थ्यमा असर गर्ने देखिएमा आफू प्लान्ट अन्यत्रै सार्न तयार रहेको बताउँछन् । 

तर स्थानीय भने अलकत्र उत्पादन गर्न दिने पक्षमा देखिँदैनन् । आफूहरू बरु मर्न तयार रहेको तर अलकत्र उत्पादन गर्न नदिने बताउँदै आएका छन् । स्थानीय कृष्णमाया रिजाल भन्छिन् ‘हामीलाई सुरुमा ढाँट्ने काम गरियो । अब हाम्रा बालबालिका तथा यस ठाउँका दीर्घ रोगीहरूको स्वास्थ्य माथि खेलबाड गर्ने काम गर्न पाइन्न, बरु हामी बर्न तयार छौँ तर यो प्लान्ट चलाउन दिँदैनौँ ।’ 

साथै केहीले भने सरकारी जग्गा अतिक्रमण गरेर उद्योग चलाएको आरोप लाउँदै उक्त स्थानमा उद्योग चलाउन दिनु नहुनेसमेत बताउँदै आएका छन् । उद्योग संचालन हुँदै आएको अढाइविगाहामध्ये अधिकांक्ष क्षेत्रफल चाहिँ गछिया खोलाको रहेको बताइएको छ । 

उद्योगसँगै सिमाना जोडिएका स्थानीय भने उद्योगले अलकत्रका सामग्रीहरू जताततै फाल्ने गरेको, यतिसम्मकी शौचालयसमेत अर्कैको जग्गामा जोडेर बनाएको आरोप लाएका छन् । स्थानीय चित्रकला लिम्बू संचालक सहभागी भएकै भेलामा आक्रोश व्यक्त गर्दै भनिन् ‘सहरमा घर बनाउँदा त केही फिट जग्गा छाडेर बनाउनु पर्छ तर चर्पी पनि जोडिएर बनाइएको छ । सामग्रीहरू जताततै फालिएको छ ।’ उनले ती सबै सामग्री चाँडै हटाउनसमेत आग्रह गरिन् । 

स्थानीय सन्तोष लिङ्देन सञ्चालकले उद्योग सञ्चालन गर्नु पूर्व वातावरण असर सम्बन्धी सर्वे गर्नु पर्नेमा उक्त काम नगरी हचुवाका भरमा उत्पादन सुरु गरेको बताउँछन् । साथै लिम्बूले उद्योग सञ्चालकले स्थानीयलाई ढाँटेकोसमेत आरोप लाउँदै प्रहरीले प्रशासनलेसमेत स्थानीयलाई सहयोग नगरेकोमा उनको गुनासो रहेको छ । 

प्लान्टबाट हुँदै पूर्वबाट बहने पश्चिमी हावाले गर्दा पुरै गाउँमा असर पुगेको, बालबालिका तथा दीर्घ रोगीलाई त झनै ठूलो असर पार्ने भन्दै स्थानीयहरू आन्दोलनमै उत्रिए पछि दुर्गा टोल विकास संस्थाले सोमबार भेला नै डाकेर जनताको स्वास्थ्यमा खेलबाड गर्न नपाइने भन्दै अलकत्र उत्पादन गर्न नहुने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्