ताप्लेजुङ, १३ जेठ । ताप्लेजुङका हिमाली पर्यटकीय दुई बस्ती ओलाङचुङगोला र याङ्मा प्रवेश निषेध गरिएको छ ।कोरोनाको सङ्क्रमण बढ्न नदिन जेठ ७ गते देखि एक हप्ताका लागि स्थानीयवासीले बाहिरका मानिसलाई गाउँ प्रवेशमा निषेध गरेका हुन् ।
यी क्षेत्रमा कोरोना शून्य रहे पनि फक्ताङलुङ गाउँपालिकामा कोरोना सङ्क्रमण बढे पछि ती गाउँहरूलाई स्थानीय बासीले नै पूर्ण प्रवेश निषेध गरेका छन् । फक्ताङलुङ गाउँपालिका वडा नं. ७ मा पर्ने यी दुई बस्तीलाई वडा समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय बासीको संयुक्त बैठकले प्रवेश बन्द गरेको वडाध्यक्ष छेतेन शेर्पाले बताएका छन् ।
उता, जिल्ला प्रशासन कार्यालयले सदरमुकाम फुङलिङबजारमा मात्र निषेधाज्ञा जारी गरेको थियो । तर कोरोनाको प्रभाव बढ्न सक्ने आङ्कलन गरेर स्थानीयवासीको निर्णयले नै गरेर निषेधाज्ञा लगाएको बताइएको छ । हिमाली ओलाङचुङगोला गाउँ पुग्न सदरमुकाम देखि दुई दिन र याङ्मा पुग्न तीन दिन लाग्ने गरेको छ ।
गाडीमा र पैदल गरेर दुई दिनमा ओलाङचुङगोला पुगिन्छ । यहाँ कोरोनाको सङ्क्रमण भित्रियो भने पुरै गाउँ जोखिममा पर्ने भएकाले प्रवेश निषेध गरेको वडाध्यक्ष शेर्पाले बताए । (साभार : इपूर्वपोष्ट)