निषेधाज्ञाले सुनसान बनेको उँभौली पर्व


काठमाडौँ, १२ जेठ । प्रत्येक वर्ष रमझमका साथ मनाइँदै आएको उँभौली पर्व यसपटक भने निषेधाज्ञाको कारणले सुनसान बनेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले उँभौली पर्व मनाउँछन् ।

उँभौली देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइन्छ । बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको पाइन्छ । 

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । यति सम्म कि नदीमा माछासमेत गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ रहेको पाइन्छ ।उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको पाइन्छ । यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ ।

यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् ।

यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । वर्षेनी आजको दिन रमझम हुने गरेको भए पनि विश्वभर बढेको कोरोना महामारीका कारणले लगाइएकोलकडाउका कारणले आज सुनसान रहेको पाइनछ । 

प्रतिक्रिया दिनुहोस्