बेलबारी, ११ जेठ । सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले सङ्घीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको महामारीको बेलामा सोधखोज नै नगरेको आरोप लगाएका छन् ।
सङ्घीय सरकारले सुन्दरहरैँचा नगरपालिकालाई कोरोना महामारी नियन्त्रणको लागि भनेर पठाएको स्वास्थ्य सामग्रीको विवरण देखेर आश्चर्य व्यक्त गर्दै मेयर ढकालले आक्रोश व्यक्त गर्दै उक्त आरोप लाएका हुन् ।
कोरोना सङ्क्रमणका लागि लड्न भनेर सङ्घीय सरकारले सुन्दरहरैँचा नगरपालिकालाई १ थान पल्समिटर, २ थान थर्मल गन, १० थान पीपीई सेट, ५० थान एन ९५ मास्क र ५० थान सर्जिकल मास्क पठाएको छ ।यो सामग्रीको विवरण हेर्दै उनले आफ्नो आक्रोश सामाजिक सञ्जालमा पोखेका छन् । उनले लेखेका छन् ‘धन्य, सङ्घीय सरकार, २ लाख जनसङ्ख्या भएको सुन्दरहरैँचा नगरपालिकालाई कोरोना महामारी नियन्त्रण र रोकथामका लागि आज पठाएको सामान प्राप्त भयो । सरकारबाट जनताको सुरक्षा लागि प्राप्त यो सहयोग आज सम्मकै उच्च हो ।’
मेयर ढकालले यस्तो विपद्को बेलामा सङ्घीय सरकारबाट स्थानीय सरकारलाई परेको समस्याको बारेमा सोधखोज गर्नुको साटो स्थानीय सरकारले गरेको फोनसमेत नउठाएको गुनासो व्यक्त गरेका छन् । नगरपालिकाले पछिल्लो समय गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा प्रदान गरिहरेको छ ।
सुन्दरहरैँचामा हालसम्म ३ सय ७ महिलासहित ६ सय ३९ जना सङ्क्रमित भएका छन् भने १५ जनाको सङ्क्रमणका कारण ज्यान गएको छ ।