सुन्दरहरैँचा, ७ जेठ । मोरङको सुन्दरहरैँमा सुतेकै ठाउँमा एकजना पुरुषको विभत्सपूर्ण रूपमा हत्या भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–३ लोचनीका का ४० वर्षीय विष्णु ऋषिदेवको सुतेकै ओछ्यानमा धारिलो हतियारले प्रहार गरेर बीभत्स हत्या भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार घाँटीमा धारिलो हतियारले प्रहार गरेर हत्या गरिएको आशङ्कामा उक्त पुरुषको शव शुक्रबार बिहान फेला परेको हो ।
प्रहरीका प्रवक्ता डिएसपी राईले हत्या भएको खबर प्राप्त हुनसाथ प्रहरी घटनास्थल पुग्दा घरभित्र खाटमा लडिरहेको, कम्मरमुनि कट्टु मात्र लगाएको अवस्थामा शव फेला परेको बताए ।
मृतक गछिया खोला छेउको ऐलानी जग्गामा टिनको छानो भएको सानो झुप्रोमा बस्ने गरेका थिए । ज्यालामजदुरी गरेर जीविका चलाउँदै आएका मृतक विष्णुकी श्रीमतीको मृत्यु भइसकेको र छोराछोरी पनि घरभन्दा बाहिर नै बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।