काठमाडौं, ३० वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकार गठनका लागि दाबी नगर्ने भएका छन् । सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र आवश्यक संख्या जुटाउन नसकिएको भन्दै दुवै दलले बहुमतको सरकारको दाबी नगर्ने निष्कर्ष निकालेको छ ।
बिहीबार पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले संविधानको धारा ७६ (२) अनुसार दाबी गर्नका लागि बहुमत नपुग्ने भएकाले दाबी नगर्ने निष्कर्ष निकालेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
‘हामी एमाले नेता माधवकुमार नेपाल पक्षको निर्णय कुरेका थियौँ । उहाँहरूको निर्णयले हाम्रो निर्णय प्रभावित भयो अब बहुमतको सरकार दाबी गर्दैनौँ’, उनले भने । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार दिउँसो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बुढानीलकण्ठ गएका थिए । त्यस भेटमा माधव समूहले राजीनामा नदिए बहुमतको सरकारको दाबी नगर्ने समझदारी भएको थियो ।
एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार भएको भेटपछि आफूहरूको राजीनामा टरेको बताएका थिए । बहुमत सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदै छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल नेपाल समूहको निर्णय आएपछि आफूहरूले निर्णय गर्ने बताएका थिए ।
काँग्रेसको निष्कर्ष– वैकल्पिक सरकार असम्भव
वैकल्पिक सरकारको नेतृत्व गर्ने प्रयासमा रहेको प्रमुख विपक्षी नेपाली काँग्रेस प्रतिनिधिसभाको बहुमत जुटाउन नसकेपछि त्यसबाट पछि हटेको छ । काँग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले जसपाको महन्थ ठाकुर पक्षका कारण बहुमत नभएकाले राष्ट्रपति समक्ष दाबी पेस गर्न नजाने जानकारी गराएका हुन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै काँग्रेस सहमहामन्त्री डा.प्रकाश शरण महतले वैकल्पिक सरकारको सम्भावना टरेको छ । तर काँग्रेसले केपी शर्मा ओलीलाई राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नै प्रधानमन्त्री नियुक्त गर्न भने नमिल्ने बताएको छ ।
काँग्रेस बैठकमा एमालेको माधव नेपाल पक्ष समेत ओलीसँग मिलेको र महन्थ ठाकुर पक्षको समेत समर्थन लिएर ओलीले दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त प्रधानमन्त्री हुन सक्ने विश्लेषण गर्दै त्यसो गर्न नमिल्ने जनाएको हो ।