सरकारकै लापरबाहीले संक्रमण फैलियो : काँग्रेस सभापति देउवा


काडमाडौँ, १८ वैशाख । सरकारको गम्भीर लापरबाहीका कारण मुलुकमा कोरोना भाइरसको संक्रमण उच्च बन्न पुगेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आरोप लगाएको छ । सभापति शेरबहादुर देउवाले शुक्रवार आफ्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गर्दै सो आरोप लाएका हुन् ।

संक्रमण घटाउन र रोगबाट जनतालाई जोगाउन लाग्नुपर्ने सरकार नै उद्घाटन र भिडभाड जम्मा गर्न सक्रिय हुँदा अहिलेको अवस्था आएको उनले दाबी गरे। अत्यन्त कम पिसिआर परीक्षण हुँदा पनि सङ्क्रमण दर यति माथि देखिएको छ । यदि परीक्षण दर बढाउने हो भने यो दर अझै माथि रहेको भन्दै काँग्रेस सभापति देउवाले आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको टड्कारो अभाव देखिन थालेकोमा चिन्ता व्यक्त गरेका छन् । तर यस्तो अवस्था आउनुमा सरकारको चरम लापरबाही, असंवेदनशीलता र अकर्मण्यता जिम्मेवार रहेको आरोप लगाए ।

सरकार आफैले अधुरा कामलाई पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडकभडकमा मग्न भएकोले अहिलेको स्थितिमा पुगेको छ । कोभिड—१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेका समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्ण रूपमा सदुपयोग गर्नसमेत उनको माग रहेको छ।

कोभिड–१९ संक्रमितको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेष्ट आपूर्ति तत्काल सुनिश्चित गर्न पनि देउवाको माग रहेको छ । कन्ट्याक ट्रेसिङ प्रभावकारी बनाई सम्भावित संक्रमितको पिसिआर परीक्षणलाई व्यापक बनाउन, सिमानामा अनिवार्य पिसिआर परीक्षण र परीक्षणको नतिजा नआउन्जेल होल्डिङ केन्द्रहरूमा राख्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ।

विदेशमा जानेहरूलाई आवश्यक पिसिआर परीक्षण गर्ने अस्पतालको संख्या बढाउन, लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीलाई आवश्यक राहत र सहयोगको कार्य योजना ल्याउन पनि उनको सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्