“अपाङ्गता मैत्री प्रदेश निर्माणमा सरकार अघि बढिरहेको छ” : सामाजिक विकास मन्त्री घिमिरे


विराटनगर, १८ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिइएको बताउनु भएको छ ।

अपाङ्गता पुर्न स्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्गता मैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि बढेको उहाँले बताउनुभयो । २९ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै मन्त्री घिमिरेले १३७ वटै स्थानीय तहमा करुणा फाउन्डेसनसँगको सहकार्यमा अपाङ्गता पुर्न स्थापना तथा रोकथाम कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । मन्त्री घिमिरेले सरकारको प्रतिबद्धतालाई साकार पार्न राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ तथा प्रदेशमा रहेका सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, निजी क्षेत्र, सरोकारवाला व्यक्ति लगायत सम्बन्ध पक्षलाई हातेमालोका लागि पनि आग्रह गर्नुभयो ।

प्रदेश सरकार गठन भएको तीन वर्षको अवधिमा अपाङ्गताका विषयमा उदाहरणीय कार्य गरेको बताउनुहुँदै उहाँले अहिले प्रदेश स्तरीय नीति तर्जुमाको तयारीमा रहेको बताउनुभयो । सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार तथा पुर्न स्थापना, अपाङ्गता भएका व्यक्तिहरूका लागि सूचना, सहायता र परामर्श सेवाको सञ्चालन, प्रदेश स्तरीय अपाङ्गता समन्वय शमित गठन लगायतका कार्य गरिएको उहाँले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि प्रयास जारी रहेको बताउनुहुँदै मन्त्री घिमिरेले भन्नुभयो,‘ उहाँहरूका आवश्यकता र चाहना सबै पुरा गर्न सकिएको छैन ।’ अपाङ्गता अधिकार सम्बन्धी महासन्धि व्यवस्थाको कार्यान्वयन, अपाङ्गता अधिकार सम्बन्धी ऐन २०७४ मा उल्लेख भएका प्रावधान कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्