नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त


काठमाडौं, २४ कार्तिक । ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई आज (सोमबार) नियुक्त गरेको छ । शाक्यलाई अर्को व्यवस्था नभइन्जेलसम्मका मन्त्रालयले निमित्त प्रमुख तोकेको हो ।

उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’ बाट काज फिर्ता गरेर नियुक्ति दिइएको हो । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिएका थिए । यसअघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२ औं तहका लागि बढुवा भए पनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो ।

त्यसैले बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन् । कोइराला निमित्त प्रमुख भएपछि शाक्य प्राधिकरणमा आएका थिएनन् । आफू भन्दा कनिष्ठ कोइराला पदेश अध्यक्ष हुने भएकाले उनले यो बीचमा कम्पनीको सञ्चालक समिति बैठक पनि बोलाएनन् ।

तर, कोइरालाले नै उनलाई प्राधिकरणमा फिर्ता बोलाउने गरी गरेको निर्णय भने शाक्यले स्वीकार्नुपर्ने अवस्था बनेको छ । यसअघि ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट कोइरालालाई बरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्