मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जना पक्राउ


चितवन, २४ कार्तिक । जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी रहेका छन् । यस्तै मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् ।चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिएका छन् ।

विभिन्न समयमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक, पावरहाउस चोक, विक्रममार्ग लगायतका स्थानबाट मोटरसाइकल चोरी भएका घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट मोटरसाइकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार उनीहरुलाई कानुनी कारवाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्