ओलीको के सन्देश लिएर गए विष्णु पौडेल प्रचण्डकोमा


काठमाडौं, २४ कार्तिक । नेकपाका महासचिव विष्णु पौडेल नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर पौडेल अध्यक्ष ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका हुन ।

पार्टीभित्रको विवादका कारण प्रचण्डसँग सम्बन्ध चिसिएको र दूरी बढिरहेका बेला ओलीले अथमन्त्री समेत रहेका पौडेललाई सन्देशसहित प्रचण्ड निवासमा पठाएका हुन् । प्रचण्डसहित नेकपा सचिवालयका पाँच नेताले शनिबार अध्यक्ष ओलीलाई भेटेर तत्काल पार्टीको बैठक बोलाउन लिखित पत्र बुझाएर दुई दिनभित्र पार्टी बैठक बोलाउन आग्रह गरेका थिए । उक्त म्याद आज सकिंदैछ । पार्टी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्ष सहमति गर्नुपर्ने बताउँदै आएका ओलीलाई बहुमत सचिवालय सदस्यले बैठक माग गरेपछि उनी नैतिक दबाबमा परेका छन् ।

ओलीले पाँच जना नेतालाई आफूले सल्लाह गरेर बैठक बोलाउने बताएका थिए । त्यसपछि उनले शनिबार र आइतबार पनि महासचिव पौडेललगायत आफूपक्षीय नेताहरुसँग छलफल गरेका थिए । ओलीले सोही छलफलको सन्देश महासचिव पौडेलमार्फत प्रचण्डलाई पठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्