पूर्व सांसद वीरबहादुर लामाको निधन


काठमाडौं, २३ कार्तिक । नख्खु जेल ‘ब्रेक’ गर्ने पूर्व सांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ ।

लामो समयदेखि मृगौंलाको रोगले थलिएका ७० वर्षीय लामाको आज (आइतबार) बिहान ४ बजे पाटन अस्पतालमा निधन भएको छोरी श्रमिक लामाले जानकारी दिएकी छिन् ।दुवै मिर्गाैलाले काम गर्न छाडेपछि लामा पछिल्लो २ वर्षदेखि नियमित डायलाइसिस गराइरहेका थिए । निमोनिया भएपछि गत सोमबार उनलाई पाटन अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो भने बिहीबारदेखि भेन्टिलेटरमा राखिएको थियो ।
निमोनियाका कारण ज्वरो आएका लामालाई चारपल्ट कोरोना परीक्षण गर्दा चारैपल्ट रिपोर्ट नेगेटिभ आएपछि मात्र अस्पतालले भर्ना लिएको थियो । कोरोना महामारीका कारण डायलाइसिस गर्न समस्या परेको उनको परिवारका सदस्यले बताएका छन् ।
२०३३ सालमा नख्खु जेलबाट सुरुङ खनेर १५ जना राजबन्दी भागे । तत्कालीन पञ्चायतविरुद्ध लागेको भन्दै देशद्रोहको मुद्दा खेपेर नख्खु जेलमा परेकामध्ये एक थिए तत्कालीन क्रान्तिकारी नेता वीरबहादुर लामा ।

त्यो बेला नख्खु जेलमा झापा विद्रोहका नेताहरूमा उनीसहित सीपी मैनाली, घनेन्द्र बस्नेत, धर्म घिमिरे, नरेश खरेल, नारद वाग्ले, जीवन मगर, राजेन राजवंशी, हर्क खड्का, भीष्म धिमाल, माधव पौडेल, प्रदीप नेपाल, गोपाल शाक्य, परमेश्वर यादव र अशोक न्यौपानेलगायत १५ जना थिए ।

२०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति बनेका वीरबहादुरका दुवै मिर्गौलाले काम गर्न छाडेका दुई वर्ष अगाडि थाहा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्