प्रचण्डले धुम्बाराहीमा बोलाए सचिवालय वैठक


काठमाडौं, २१ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शुक्रबार) सचिवालय वैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा नेकपा अर्को अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी विवादलाई लिएर सम्बन्ध चिसिएका बेला आज (शुक्रबार) ३ बजेका लागि सचिवालय वैठक डाकिएको हो ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै नेता सहभागी हुने स्रोतले जानकारी दिएको छ ।पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने कार्यकारी अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक बोलाएको बताएका छन् । ‘कार्यकारी अध्यक्षले पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाउनु भएको छु,’ श्रेष्ठले सुनाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकल निर्णयमा गरेको तीन देशको राजदूत नियुक्ति, कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव, पर्सामा नेकपा कार्यकर्ताको हत्या, भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयलसँगको प्रधानमन्त्रीको भेटलगायतका विषयले अहिले नेकपामा तीब्र विवाद सिर्जना भइरहेको छ ।

विवादकै बीच हिजो (बिहीबार) बालुवाटारमा लामो समयपछि नेकपाका दुई अध्यक्षबीच भएको छलफलले समस्या समाधानको निकास दिनुका साट्टो थप सम्बन्ध चिसिएको चर्चा भइरहेको छ । हिजोको ओली–प्रचण्डबीचको छलफल एकापसमा आरोप–प्रत्यारोप लगाउँदैमा बिना निष्कर्ष सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्