काठमाडौ,१९ कात्तिक । पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महरा परिवारमा समवेदना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘प्रतिनिधिसभाका सदस्य एवं पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ । म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’यसैगरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सीता महराको निधनबाट आफू मर्माहत भएको बताएका छन् । अध्यक्ष प्रचण्डले आज शोक वक्तव्य जारी गर्दै दिवंगत सीता महराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।
प्रचण्डले असल, सरल, मृदुभाषी र जनताका बीच चाँडै घुलमिल गर्न सक्ने क्षमताकी धनी सीताले तत्कालीन ने.क.पा. (माओवादी)द्वारा सञ्चालिन १० वर्षे महान् जनयुद्धमा सक्रिय रुपमा पार्टीका विभिन्न कमिटीहरुमा रही आफ्नो भूमिका निर्वाह गरेको स्मरणसमेत गरेका छन् ।
लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित सीतामा निमोनियासमेत देखिएपछि यही कात्तिक १४ गतेदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।