भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगे


काठमाडौं, १९ कार्तिक । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे आज(बुधवार) काठमाडौं आइपुगेका छन् ।तीन दिने औपचारिक भ्रमणका क्रममा भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार काठमाडौं आइपुगेका हुन् ।

नेपाली सेनाको निमन्त्रणमा मानार्थ महारथी सम्मान ग्रहण गर्न भारतीय स्थल सेनाध्यक्ष नरवणे नेपाल आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवाणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको छ ।भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने बताइएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि दुई देशबीचको सीमा विवाद उत्कर्षमा छ ।

भारतले लिम्पियाधुरासम्म पुग्ने सडक खोलेपछि नरवणेले दिएको अभिव्यक्तिको नेपालका चौतर्फी विरोध भएको थियो । त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा संवाद नभइरहेका बेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्