अमेरिकामा आज राति राष्ट्रपतिको चुनाव हुँदै


काठमाडौं, १८ कार्तिक । अमेरिकामा आज नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुँदैछ । राष्ट्रपति चुन्न नेपाली समयअनुसार आज (मंगलबार) राति मतदान शुरु हुनेछ ।

अमेरिकाको आगामी राष्ट्रपति बन्न रिपब्लिकन पार्टीबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट पूर्व उपराष्ट्रपति जो बाइडेन चुनावी मैदानमा छन् ।मतदान शुरु हुनै लाग्दा दुवै उम्मेदवारले मतदातालाई आफूतर्फ आकर्षित गर्ने अन्तिम प्रयास गरिरहेका छन् । यस क्रममा ट्रम्पले नर्थ क्यारोलाइना, पेनसिलभेनिया, विस्कनसिन र मिसिगनमा चुनावी सभा गरेका छन् भने बाइडेनले पेनसिलभेनिया र ओहायोमा यस्तो कार्यक्रम गरेका छन् ।

तर सोमबारसम्म ९ करोड ७९ लाखभन्दा बढी मतदाताले मतदान केन्द्रमा गएर वा हुलाकमार्फत अग्रिम मत दिइसकेका छन् । यो यसअघिको चुनावमा भन्दा ७१ प्रतिशत बढी हो । साथै यति धेरै अग्रिम मतदान भएको अमेरिकाको इतिहासमा पहिलोपटक हो ।

मतदान हुनुअघि भएका सर्वेक्षणले जो बाइडेन अगाडि रहेको उल्लेख गरेका छन् । तर यसअघिको चुनावमा पनि सर्वेक्षणले हिलारी क्लिन्टनलाई अघि देखाएको थियो तर राष्ट्रपतिमा ट्रम्प विजयी भएका थिए ।

अमेरिकाको निर्वाचनमा यसअघि जस्तै यसपटक पनि अर्थतन्त्र मतदाताहरुको प्रमुख चासोको विषय बनेको छ । एक सर्वेक्षणका अनुसार अमेरिका मतदाताहरुमध्ये करिब ८० प्रतिशतले अर्थतन्त्रको नीतिको आधारमा मतदान गर्ने बताएका छन् ।
सर्वेक्षणको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प विपक्षी उम्मेदवार बाइडनको तुलनामा अर्थतन्त्रको मामिलामा अगाडि देखिएका छन् । सर्वेक्षणमा ४९ प्रतिशतले ट्रम्प आए अर्थतन्त्रमा सुधार हुन सक्ने अपेक्षा व्यक्त गरेका थिए भने बाइडनको पक्षमा केवल ४० प्रतिशत मानिसहरु देखिएका थिए ।

स्वास्थ्य सर्वेक्षणमा सहभागी ६८ प्रतिशतले स्वास्थ्य स्याहार र ६२ प्रतिशतले कोरोना भाइरस (कोभिड–१९) को महामारीको विषयलाई आधार मानेर आगामी निर्वाचनमा मतदान गर्ने बताएका थिए । स्वास्थ्य स्याहार र कोरोना महामारी दुवैको हकमा भने विपक्षी उम्मेदवार बाइडनलाई मानिसहरुले रुचाएका छन् ।

अमेरिकामा पछिल्लो समय चर्चामा रहेको अर्को विषय जातीय विभेद हो । मिनोपोलिस सहरमा जर्ज फ्लोयड नामका व्यक्ति प्रहरीबाट मारिएसँगै अमेरिकामा यो कालाजातिका मानिसहरुमाथि हुने गरेको ज्यादती र दमनको विरुद्धमा आवाज उठ्दै आएको छ ।
त्यसैले धेरै मानिसहरुले काला र गोरा जातिबीचको विभेद बाइडन राष्ट्रपतिको रुपमा आए कम हुने विश्वास व्यक्त गरेका छन् ।
जलवायु परिवर्तन न्यूनीकरणको लागि सन् २०१५ मा भएको सम्झौताबाट अलग हुने निर्णय ट्रम्प प्रशासनले गरेको थियो ।

त्यसैले जलवायु परिवर्तनका क्षेत्रमा अभियान चलाउनेहरुले ट्रम्पलाई कम रुचाउँछन् । ट्रम्प दोहोरिँदा अमेरिका उक्त जलवायु सम्झौतामा पुनः जोडिने र जलवायु परिवर्तन न्यूनीकरणको प्रयास गर्ने सम्भावना कम छ । बाइडनले भने आफू राष्ट्रपति बने अमेरिका यो सम्झौतामा पुनः जोडिने बताइसकेका छन् ।

यसपटकको निर्वाचनमा आप्रवासीको मुद्दा पनि एक महत्वपूर्ण विषय बनेको छ । ट्रम्प आप्रवासीप्रति अनुदार नेताको रुपमा चिनिन्छन् । ट्रम्पको नीतिलाई राम्रो भन्नेहरुको संख्या पनि उल्लेख्य छ । त्यस्तै धेरैले बाइडन आए यो समस्या राम्रोसँग सुल्झिने विश्वास व्यक्त गरेका छन् ।
यो निर्वाचनको अर्को महत्वपूर्ण मुद्दा विदेश नीति हो । विदेश नीतिको मामिलामा भने ट्रम्प र बाइडनको बीचमा केही समानता देखिएको छ । दुवै नेताले यो निर्वाचनमा जित हात पारे चीनलाई लक्षित गरी कदम चाल्ने बताएका छन् । यद्यपि बाइडन ट्रम्पको तुलनामा यो मामिलामा लचिलो देखिएका छन्

प्रतिक्रिया दिनुहोस्