भद्रपुर,१७ कात्तिक । जिल्ला अदालत झापाले शरिर बन्धक र बंैकिङ कसुर मुद्धाका दुई फरार अभियुक्त कारागार चलान गरेका छन् ।
मेचीनगर–१२ का नरेश मेचे र कन्काई–३ का राजेन्द्रप्रसाद प्रसाई कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । केही दिनअघि पक्राउ परेका दुवै फरार अभियुक्तहरुलाई झापा जिल्ला अदालतको आदेशमा झापा कारागार चलान गरिएको जिल्लाका डिएसपी राकेश थापाले जनाए ।
सङ्गठित रुपमा मानव अपहरण गरी शरिर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्धामा सुनिलकुमार अग्रवालले मेचेमाथि जाहेरी दिएका थिए । उनलाई झापा जिल्ला अदालतबाट २०७५ फागुन २७ मा सत्र बर्ष कैद र एक लाख पचास हजार जरिवाना तोकिएको थियो । घटनापछि फरार रहेका मेचेलाई केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्ज काठमाण्डौको पहलमा कात्तिक २ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा बुझाईएको उनले जानकारी दिए ।
त्यस्तै भगवति ढुङ्गेल र सुरेन्द्रकुमार उप्रेतीको जाहेरीमा बैंकिङ कसूर मुद्दामा उच्च अदालत बिराटनगरको इलाम इजलाशले दुई महिना कैद र एक करोड २५ लाख रुपैयाँ विगो सुनाइएका प्रसाईलाई पनि जेल चलान गरिएको उनले जनाए । हालसम्म फरार रहेका प्रसाईलाई कात्तिक ११ गते प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए ।