डीएसपीे भन्दै धम्क्याउने झा पक्राउ


काठमाडौं, १७ कार्तिक । आफू काठमाडौं कालीमाटी प्रहरी वृत्तको डीएसपी भएको भन्दै आफ्नै भाइलाई फोन गरेर धम्क्याउने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–६ घर भएका बब्लु झा रहेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिलराज बोहोराले जानकारी दिए ।

बब्लु झाले १३ कात्तिकमा बानेश्वर बस्दै आएका ४१ वर्षीय चन्दु झालाई ९८०५८५९२४५ नम्बरबाट फोन गरेर धम्क्याएको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी बोहोराले बताए । कालीमाटी वृत्तको डीएसपी बोलेको भन्दै फोनमार्फत बब्लुले चन्दुलाई धम्क्याएका थिए ।तपाईको बब्लु झा गरेका व्यक्तिसँग के लफडा हो, तपाई तुरुन्त कालीमाटी वृत्तमा आउनुहोस्, नआए कारबाही अगाडि बढाउँछु,’ चन्दु झालाई अपरिचित नम्बरबाट फोन गरेर बब्लुले धम्क्याएको डीएसपी बोहोराले जानकारी दिए । चन्दु बब्लुको आफ्नै भाइ हुन् ।

१४ कात्तिकमा चन्दु झा कालीमाटी वृत्त गए । चन्दुले डीएसपी बोहोरालाई भेटे । अनि थाहा भयो चन्दुलाई फोन गर्ने व्यक्ति नक्कली डीएसपी रहेछन् । कालीमाटी वृत्तका डीएसपीले तत्कालै उक्त फोन नम्बरको आधारमा ती व्यक्तिको खोजीकार्य शुरु गरे ।

अन्ततः २ दिनपछि चन्दुलाई फोन गरेर धम्क्याउने बब्लु झा पक्राउ परेका हुन् । आर्थिक लेनदेनको विषयमा बब्लुले भाइ चन्दुलाई पटक–पटक अपरिचित नम्बरबाट फोन गरेर धम्क्याउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्