१० वर्षीया बालिकालाई करणी गर्ने साह पक्राउ


जनकपुर, १७ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–७ को भ्रमरपुरा चोकमा डेरा गरी बस्ने १० वर्षीया एक बालिकालाई बन्धक बनाई करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने भारत विहार सीतामढी जिल्ला बथनाहा ग्राम पञ्चायत भुतही–५ का ५१ वर्षीय वीरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सबैला नगरपालिका घर भई जनकपुरधाममा डेरा गरी बस्ने राम्रोसँग बोल्न नसक्ने फरक क्षमता भएकी बालिकालाई बन्धक बनाई करणी गरेको प्रहरीले जनाएको छ । घरमा कोही नभएको बेला साहले बालिकालाई ललाईफकाई चकलेटको प्रलोभन दिई बन्धक बनाई करणी गरेको जनाइएको छ । साह सोही घरको तल्लो तल्लामा भाडामा बस्दै आएका छन् ।

बालिकाकी आमा छोरीलाई खोजतलास गर्ने क्रममा साहको कोठाबाट रुँदै कराउँदै गरेको देखि हल्ला गर्दा स्थानीयवासी समेत आई प्रहरीलाई खबर गर्दा जिल्ला प्रहरीबाट खटिएको टोलीले साहलाई पक्राउ गरेको बताइएको छ । पक्राउ गरिएका साहलाई शरीर बन्धक एवं जबरजस्ती करणी मुद्दा शीर्षकअन्तर्गत म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्