सामूहिक बलात्कारको आरोपमा फरार युवक पक्राउ


विराटनगर,१५ कात्तिक । सामूहिक बलात्कारको आरोपमा फरार एक युवालाई प्रहरीले रूपन्देही जिल्लाको तिलोतमा नगरपालिकाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्ने १६ वर्षीय (हाल १८ वर्ष लागेका) युवालाई तिलोतमा नगरपालिका–१५ मा लुकिछिपी बसिरहेको अवस्थामा रहेको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।

मोरङ बूढीगंगा गाउँपालिका–७ महदाखोला नजिकै ५ जना युवाहरूले सामूहिक करणी गरेको आरोपमा फरार १८ वर्षमा लागेकाले उनको नाम, ठेगाना खुलाइएको छैन । २०७६ साल माघ १५ गते रातको करिब ९ बजेतिर युवाहरूले करणी गरेका थिए । उक्त घटना करिब तीन महिनापछि मात्रै खुलेको थियो ।

२०७७ वैसाख १० गते घटना खुलेपछि पीडितका आफन्तले प्रहरीमा जाहेरी दिएको आधारमा ५ जनामध्ये ४ जना तत्कालीन पक्राउ गरिएको प्रहरीले जनाएको छ । जसमध्ये २ जना नाबालक रहेकाले जिल्ला अदालतको आदेशमा धरौटीमा छाडिएको थियो भने अन्य दुईलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । सोही घटनामा फरार रहेका युवालाई पक्राउ गरिएको हो ।

जिल्ला अदालत मोरङले २०७७ वैशाख ३१ गते आदेश दिएको थियो । पक्राउ पर्नेमध्ये बूढीगंगा–६ का २१ वर्षीय टंके भनिने कुमार राई र १९ वर्षीइ सन्देश लिम्बूलाई पुर्पक्षका लागि थुनामा पठाइएको डिएसपी राईले जानकारी दिए । बाँकी २ जना युवाहरू नाबालक रहेपछि उनीहरूलाई जिल्ला अदालतकै आदेशमा जमानीमा छाडिएको छ ।

प्रतिक्रिया दिनुहोस्