प्रचण्ड ११ दिनपछि पुगे बालुवाटार


काठमाडौं, १५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

पार्टीभित्र देखिएको समस्या समाधानका विषयमा आज (शनिबार) विहान आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग असमझदारी चुलिइरहेका बेला प्रचण्ड ११ दिनपछि बालुवाटार पुगेका हुन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न प्रचण्ड आज (शनिबार) दिउँसो बालुवाटार पुगेका हुन् ।गएको

कात्तिक ४ पछि ओली–प्रचण्डबीच संवादहिनताको अवस्था छ । योबीच प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु खुमलटार पुगे पनि प्रचण्ड संवादमा बस्न मानिरहेका थिएनन् ।

शुक्रबार मात्रै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
त्यसअघि महासचिव बिष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए । तर, प्रचण्डले आफू कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेकाले बालुवाटार नजाने बताउँदै आएका थिए ।
मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, माओवादी कोटाबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्तावलगायतका निर्णयबाट प्रचण्ड ओलीसँग रिसाएका थिए ।

लगातार ओलीले वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड शनिबार अर्का अध्यक्षसँग भेटका लागि बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ । बालुवाटार जानु अगाडि प्रचण्डले नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न नेता नेपाल साढे ११ बजे खुमलटारस्थित उनकै निवास पुगेका थिए ।

नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गर्दै आएको भन्दै असन्तुष्ट रहेका दुई नेताबीच अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्