तातोपानी नाका आजबाट खोल्दै


काठमाडौं,१२ कात्तिक । नोवेल कोरोना भाइरस (कोभिड(१९)का कारण बन्द भएको तातोपानी नाका आज (बुधबार)देखि सञ्चालनमा आउने भएको छ ।

चिनियाँ अधिकारीहरुबाट आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन सुरु गर्ने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । प्रमुख जिल्ला अधिारी ढकालले भने ‘साँझसम्म तातोपानीमा चीनतर्फबाट सामान ल्याइदिने जानकारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले हामीलाई गराएको बताएका छन् । बुधबार मध्याहृनसम्म नाकामा कुनै सामान आइनपुगेको भन्दै उनले साँझसम्म नाकाबाट माल वस्तु आयात सुरु हुने जानकारी दिए ।

असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका कोरोना संक्रमणको जोखिमका कारण सर्तकता अपनाउँदै नाका सञ्चालन गर्न लागिएको ढकालले बताए । चिनियाँ अधिकारीहरुसँग भएको समझदारीअनुसार नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले माल वस्तु ल्याएर छोडेर जानेछ ।

नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ्ग गर्ने काम सकिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।

भन्सार प्रमुख खत्रीकाअनुसार अब नेपाली श्रमिकहरु चीनतर्फ जानु पर्दैन, चिनियाँहरुले नै कन्टेनर नेपाली यार्डमा ल्याइदिनेछन् ।
नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनियाँले ट्रक छोडर जाने र त्यहाँबाट नेपालीले सामान लोड गर्ने गरी तयारी गरिएको छ ।
यसरी सामान ढुवानी गर्दा दैनिक ७ वटासम्म चिनियाँ कन्टेनर नेपालतर्फ आइपुग्ने छन् ।

प्रतिक्रिया दिनुहोस्