तेह्रथुम, ७ कार्तिक । तेह्रथुमको आठराई गाउँपालिकामा करेन्ट लागेर नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत एक सैनिक जवानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइली रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । हिजो साँझ करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।
आफ्नै घर अगाडि रहेको बिजुलीको ट्रान्समिटरबाट आफूखुशी कालो तार जोड्ने क्रममा करेन्ट लागेर बराइली जमिनमा पछारिएका थिए । गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाँचथरको फिदिमस्थित जिल्ला अस्पताल ल्याउने क्रममा साँझ पौने ८ बजेट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । सैनिक जवान बराइली दशैं विदा मनाउन केही दिनअघि घर आएको खुलेको छ ।