तातोपानी नाका दसैँपछि मात्र सञ्चालन हुने


काठमाडौं, ५ कात्तिक । चिनियाँ पक्ष नाका खुलाउन सहमत भए पनि आवश्यक तयारी गर्दा दसैँपछि नाका खुल्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । तीन सातादेखि बन्द तातोपानी नाका अब दसैँपछि मात्र सञ्चालन हुने भएको छ ।

नाका सञ्चालनको मिति किटान गर्न भने बिहीबार चिनियाँ पक्षसंग छलफल हुने भन्सार कार्यालयले जनाएको छ । सम्भवतः दसैँलगत्तै नाकाबाट व्यापार नियमित हुने भन्सार प्रमुख लालबहादुर खत्री बताउँछन् ।तीन महिना बन्द भएर गत १९ असोजमा नाका खुले पनि चीनतर्फ सामान लोड गर्न गएका ७ जना नेपाली श्रमिकमा कोरोना संक्रमण देखिएपछि सञ्चालनको दोस्रो दिनमै नाका ठप्प भएको थियो ।

अब भने चिनियाँ पक्षले नेपालमा नै सामान ल्याइदिने गरी तयारी थालिएको छ । चीनले नै तयार गरेको नेपालतर्फको भन्सार यार्डसम्म सामान ल्याइदिने सहमति भएको भन्सार प्रमुख खत्रीले बताए ।

नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ गर्ने काम भइरहेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्