कोरोना संक्रमितको संख्या बढढै


धरान, ५ कार्तिक । धरान उपमहानगरपालिका– १६ का ४९ वर्षीय एक शिक्षकको गत बुधबार राति होम आइसोलेशनमै मृत्यु भएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैंया सोध्दा सोध्दै उनको ज्यान गयो ।

बुधबार राति नै धरान ९ का ५८ वर्षीय पुरुषको मृत्यु भयो । उनलाई प्रतिष्ठानमा अक्सिजन बेड नभएपछि घरमै अक्सिजन किनेर राखिएको थियो । राति ११ बजे अस्पताल पु¥याउने बित्तिकै उनको ज्यान गएको ९ नं वडाध्यक्ष रत्न कटवालले जानकारी दिएका छन् । धरान २ का ८९ वर्षीय पुरुषको पनि गत सोमबार बिहान होम आइसोलेशनमै मृत्यु भयो । अस्पताल लान लाग्दा भेन्टिलेटर अभाव भएको भनिएपछि परिवारले घरमै राख्यो । एक साताअघि धरान–८ का ५२ वर्षीय पुरुष धरानस्थित बिपी प्रतिष्ठानको इमर्जेन्सी वार्डमा भर्ना भएका थिए । निमोनियाका कारण अस्पताल पुगेका उनलाई कोरोना सङ्क्रमण भयो ।

प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा भेन्टिलेटर अभाव भएपछि उनको ज्यान गयो । धरानमा मात्र अस्पताल जान नपाई १३ जनाको होम आइसोलेशनमा मृत्यु भएको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । हालसम्म ३४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिष्ठानको तथ्याङ्कअनुसार मंगलबार बिहानसम्म ६६ संक्रमितले ज्यान गुमाएको प्रतिष्ठानका सहप्रवक्ता डा. शाशिष श्रेष्ठले जानकारी दिए । प्रदेश नं १ मा सोमबार साँझसम्म मृतकको संख्या १३६ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रदेश सरकारले गत जेठमै दुई हजार शैंयाको आइसोलेशन वार्ड बनाउने घोषणा गरे पनि अहिलेसम्म काम शुरु भएको छैन । प्रत्येक स्थानीय तहमा १५ शैंयाको आइसोलेशनसहितको अस्पताल निर्माण गर्ने भनिए पनि कुनै स्थानीय तहले सञ्चालन गर्न सकेका छैनन् ।

 

बिरामीको चाप भने अस्पतालमा थेग्न नसक्ने भएको छ । प्रतिष्ठानले बिरामीको चाप थेग्न नसक्ने भनी सम्पर्क गरेर मात्र ल्याउन अस्पताल प्रशासनले १५ दिनअघि सूचना नै जारी गरेको थियो । बिरामी धान्न नसकेको जनाई अस्पताल प्रशासनले स्थानीय तहहरुलाई लकडाउन गर्न समेत सुझाव दिएको थियो ।

पछिल्लो समय सङ्क्रमित चौगुना बढेका छन् । एक साताअघिदेखि धरानमा दैनिक संक्रमितको संख्या बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्