प्रदेश १ सरकारले अपाङ्गता दर घटाउने


विराटनगर,२७ असोज । अपाङ्गता रोकथाम तथा पुर्नस्थापनाका लागि प्रदेश सरकारले तीनवटा मोडालिटीमा काम गरिरहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन् ।

उनले अपाङ्गता भएका व्यक्ति जन्मनै नदिने, जन्मिए स्वास्थ्य अवस्था पहिचान गर्ने र व्यवस्थापन गर्ने मोडालिटीबाट काम सुरु गरिएको बताए । उनका अनुसार चालू आर्थिक वर्षमा प्रदेश सरकारले प्रदेश १ का ६९ वटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यसले अपाङ्गता दर घट्ने विश्वास गरिएको छ । पहिलो चरणमा सरकारले २७ वटा स्थानीय तहबाट यो कार्यक्रम थालनी गरेको थियो । अपाङ्गतालाई नियन्त्रण गर्नका लागि मातृशिशु तथा बाल स्वास्थ्य र पोषणमा ध्यान दिइएको छ ।

सम्बन्धित स्थानीय तहका सेवा प्रदायक संस्थाहरूको सुदृढीकरणमा सहयोग गर्ने उद्देश्य सहित सामाजिक विकास मन्त्रालयले करुणा फाउण्डेशन नेपालसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको छ ।

प्रदेश १ मा २० प्रतिशतले जन्मदोष दर र ४० प्रतिशतले जन्मपश्चात् हुने अपाङ्गताको दर घट्ने दीर्घकालीन परिणाम सहित कार्यक्रम शुरु गरिएको करुणा फाउण्डेसन नेपालका सहनिर्देशक योगेन्द्र गिरीले जानकारी दिएका छन् ।

उनका अनुसार मातृमृत्यु दर प्रति लाख जीवित जन्ममा २३९ बाट ९९ र नवजात शिशु मृत्यु दर प्रति हजार जीवित जन्ममा २१ बाट १४ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्