ईपीएस भाषा परीक्षा सन् २०२१ को पहिलो त्रैमासिकभित्र गर्ने तयारी


काठमाडौं, २५ असोज । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा सन् २०२१ को पहिलो त्रैमासिकभित्र गर्ने तयारी अगाडि बढाएको छ ।

कोरोना महामारीका कारण यो कोरोना महामारीका कारण सन् २०२० वर्षको मंसिरसम्म परीक्षा गर्ने सम्भावना नरहेपछि भाषा परीक्षाको मिति अर्को वर्षका लागि सारिएको हो । सामान्यता बर्षेनी चैत–वैशाखमा लिंइँदै आएको भाषा परीक्षा यो वर्ष कोरोनाका कारण सारिए पनि संक्रमण नरोकिएका कारण अन्ततः रद्द नै गरिएको छ ।वैदेशिक रोजगार विभाग, ईपीएस शाखा नेपालले यो वर्षको भाषा परीक्षा नहुने भएपछि केही छिटो गरेर चैतसम्म गर्ने तयारीसहित प्रारम्भिक छलफल भइरहेको जनाएको छ ।

 

सन् २०२० मा भाषा परीक्षा हुने नदेखिएपछि २०२१ को मार्चसम्म गर्नेबारे छलफल भइरहेको ईपीएस शाखाका निर्देशक इन्द्र गौतमलेजानकारी दिएका छन् । उनले भाषा परीक्षा गराउँदा भीडभाड हुने हुँदा नेपालमा पनि संक्रमण कम हुँदै गए २०२१ को भाषा परीक्षा हुने बताए ।

कोरिया सरकार नेपालबाट श्रमिक लैजान र भाषा परीक्षा गर्ने पक्षमा भए पनि कोरोना संक्रमणका कारण दुवै देश ‘पर्ख र हेर’को अवस्थामा छन् ।

नेपालबाट वार्षिक औषत ८ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने भए पनि यो वर्षको ९ महिनामा १ हजार २७ नेपाली मात्र रोजगारीका लागि कोरिया गएको शाखाले जनाएको छ । सन् २०१९ मा ७ हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हालसम्म ४ हजार २० महिला र ६२ हजार ८५२ पुरुषसहित ६६ हजार ८७२ नेपाली रोजगारीका लागि कोरिया गइसकेका छन् । कोरियामा करिब ३१ हजार नेपाली कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्